प्रवासी नेपालीको पीडा : धोबीका कुत्ता, घरका न घाटका ! मदन बस्नेत

NRNA

आपतमा परेका आफ्ना नागरिकलाई सकुशल घर फिर्ता गराउनु त कता हो कता, त्यसरी फिर्ता हुन चाहने नेपालीलाई आवश्यक विमान सेवा उपलब्ध गराउँछौ भन्ने  “यूएई” सरकारको “अफर” लाई समेत नेपाल सरकारले कुनै सुनुवाइ  नगरेपछि रोजगारीको शिलशिलामा बिदेशिएका लाखौं नेपालीहरुको अबिलम्ब घर फर्कने चाहना  तुहिएको छ।

वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहेका आफ्ना नागरिकलाई अन्तराष्ट्रिय उडान खुलेपछि मात्रै स्वदेश फर्काउने र त्यतिन्जेल सम्मलाई जो जहाँ छन् त्यहीँ सुरक्षित रहनु पर्ने भन्ने पुरानै रटानलाई  दोहोर्‍याईरहेको छ। 

त्यही नीति अन्तर्गत नै केही दिन अघि अस्ट्रेलिया पुगेको सरकारी स्वामित्वको नेपाली विमानले  नेपालीलाई उद्दार नगरी रित्तै फर्किएको थियो।

बिदेशमा रहेका नेपालीको तत्काल घर वापसी संभब नभएको र अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्रै उद्दार गर्न सकिने भन्ने सरकारी नीति कै कारण  कोरोनाको कहरका बीच, बिदेशी भुमिमा अलपत्र परेका र उद्दारको पर्खाईमा बसेका लाखौं नेपालीहरु “घरको न घाटको” भएका छ्न्।

नेपालको कुल ग्राहस्थ्य उत्पादनको एक चौथाई भार थाम्ने यति ठूलो र महत्वको जनशक्ति माथी आपत बिपत आईपर्दा राज्यले त्यसरी टुलुटुलु हेरेर बसिरहन हुँदैन थियो। उनीहरुले भोग्नु परेको समस्याको सम्बोधन गर्ने दायित्व राज्यको हो र त्यसबाट यो वा त्यो बहानामा उम्कन पनि मिल्दैन थियो। एउटा जिम्मेवार अभिभावकको भुमिकामा प्रस्तुत हुनु पर्नेमा उनीहरु प्रती त्यति बिघ्न कठोर र कृतघ्न बनेर प्रस्तुत हुनु भनेको गैरजिम्मेवारीपनको पराकाष्ठा नै हो।

गत बर्ष मात्र नेपालले नेपाली कामदारले पठाएको रेमिट्यान्सबाट ८ खर्ब ७९ अर्ब रुपैयाँ भित्र्याएको थियो। रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका त्यस्तो वैदेशिक रोजगारीमा संलग्न नेपालीको संख्या लाखौं छ। 

मुलुकमा रेमिट्यान्स भित्र्याउन यतिखेर झण्डै ७० लाख युबाहरु बिदेशिएको स्थिति छ। श्रम स्वीकृति लिएर त्यसरी बिदेशिएका नेपाली कामदारहरु मलेसिया,साउदीअरब,यूएई,कतार,कोरिया,बहराइन, ओमन लगाएतका विभिन्न मुलुकमा मात्र ४० लाख भन्दा बढी छन्। र, त्यहाँ उल्लेख्य संख्यामा अबैध काम गर्ने नेपालीको संख्या पनि थुप्रै छ। 

नेपाली कामदार जाने खाडी लगायत अन्य मुलुकहरु मध्ये कतार, कुबेत, बहराइन र साउदी अरबमा यतिबेला कोरोनाको चर्को संक्रमण देखिएको छ। कोरोनाको प्रभाब थप बढ्दै गए र अवस्था झन खराब हुँदै गए लकडाउनको समय अझ थपिने देखिन्छ। र, स्थिति पुर्णतः सामान्य हुने अबस्था सम्ममा त थुप्रै नेपालीले रोजगारी गुमाईसकेका हुनेछन्।

सानासाना कम्पनीहरु सबै बन्द भएका छन्। होटल ब्यबसाय धराशायी भएको छ। पर्यटन क्षेत्र चौपट छ।  उड्डयन सबै ठप्प छन्। निर्माण कार्य पुर्णतः रोकिएको छ। डिपार्टमेन्ट स्टोरहरु नगण्य मात्रामा मात्र खुल्ला छन्। नेपालीले काम गर्ने त्यस्ता सबै सेवा र क्षेत्रहरु कोरोनाको चपेटामा परेका छन्। फलस्वरूप प्रवासमा रहेका धेरै नेपालीहरुको रोजोरोटी गुमेको छ। 

एकातिर, रोजगारी गुमेको कारणले गर्दा खान बस्नलाई नै धौ धौ भैइरहेको छ भने अर्कोतिर, साघुँरो कोठामा “रुम शेयर” गरेर धेरै जना कोचाकोच गरेर बस्नु पर्दा सामाजिक दूरी कायम गर्ने स्थिति नै छैन। त्यसैले परदेशको बिरानो भुमीमा कोरोनाको संक्रमणमा परिने र बिना उपचार भोकभोकै मरीने पो हो कि भन्ने भय र त्रासले उनीहरुलाई नराम्ररी पिरोलेको छ।

कोरोनाको कारण वैदेशिक रोजगारीमा रहेका धेरै जसो नेपाली कामदारहरुलाई जागिरबाट निकालिएको छ भने कतिपयलाई बेतलबी बिदामा बस्न भनिएको छ। बेतलबी बिदामा राखिएका र रोजगारी गुमाएका नेपालीहरु अबिलम्ब घर फर्न चाहन्छन् तर लकडाउनका कारण स्वदेश फर्कने उनीहरुको ईच्छा पूरा हुन सकिरहेको छैन।  

त्यसरी बिना पैसा त्यतिकै परदेशमा अलपत्र परेर बसिरहनु पर्दा उनीहरुमा निराशापन बढ्दै गएको छ। घर धान्ने जिम्मेवारी बोकेर बिदेशिएका उनीहरुमाथि घर ब्यबहार कसरी चलाउने र बिदेश आउँदा गरेको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपिएको छ। 

घर जाउँ, जानै नसकिने अनि उतै बस्दा हात मुख जोड्नै नसकिने स्थिति छ। कुन बेला कोरोना संक्रमित होईने हो र उपचार नपाएर त्यति कै छटपटिएर मरीने हो ? गंभिर संकट उत्पन्न भएको छ। 

आफुसंगै कम्पनीमा काम गर्ने र रुम शेयर गरेर बस्ने अन्य मुलुकका साथीहरूलाई उनीहरुको देशले उद्दार गरेर स्वदेश फर्काएको टुलुटुलु हेरेर बसिरहँदा उनीहरु यतिखेर आफुहरुलाई भने टुहुरो महसुस गरिरहेका छन्। त्यस्तो विषम परिस्थितिमा उनीहरु “डिप्रेशन” मा जाने र आत्महत्या सम्मको घटना घट्ने संभावना पनि बढेर गएको छ।

बिदेश स्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ तथा अन्य नेपाली आबद्ध संघ संस्थाहरुले बाँडेको राहतले एक दुई दिनको छाक त टरेको छ तर घर फिर्तीको उनीहरुको चाहना भने ज्युँ का त्युँ नै रहेको छ।

कोरोनाको संत्रास बढे संगै रोजगारी गुमाएका मात्र होईनन्, अरु थुप्रै नेपालीहरुले पनि घर फर्कने ईच्छा ब्यक्त गरेका छन्। घर फर्कने प्रक्रिया अघि बढाई दिनु पर्यो भनेर नेपाली दूतावास धाउनेहरुको संख्या पनि निकै ठुलो छ।

तर बिडम्बना,सरकारले विमान चार्टर गर्नु त परै जाओस्,आफै टिकट काटेर जान्छु भन्नेलाई पनि जान नदिएर बेखर्ची बनाएर मगन्ते बनाउँदैछ। घर फर्कन, आफ्नै देशले रोक्का गरेको छ भने गन्तब्य मुलकले सुनुवाइ गर्ने त झन सवाल नै रहेन।

 न यता को, न उता को भएर बिदेशी भूमिमा भोकै प्यासै अलपत्र परेपछी प्रवासी नेपालीहरु यतिखेर “धोबीका कुत्ता, घरका न घाटका” भने झैँ  बेवारिसे भएका छन्।

हो, ठूलो संख्यामा नेपालीलाई एकसाथ स्वदेश फर्काउन गाह्रो छ र त्यसरी फिर्ता आउनेलाई आईसकेपछी क्वारेन्टाइनमा राख्ने लगाएतको ब्यबस्थापन गर्न पनि ठुलै श्रोत र साधनको आवश्यकता पर्दछ तर त्यसो भन्दैमा सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन।

रेमिट्यान्स भित्र्याउँदा दुबै हातले सोहर्ने अनि रेमिट्यान्स भित्र्याउने तिनै युवा जनशक्ति अलपत्र परेको वेला राज्यले चैं त्यसरी मुन्टो फर्काएर हिंड्न् हुँदैन।

नेपाल सरकारले खाडीका नेपाली दूतावासहरुलाई अलपत्र परेका नेपालीको ब्यवस्था गर्न ओठे जवाफ त लगाएको छ तर उनीहरुको उद्धारका निम्ति आवश्यक थप रकमको निकासा भने गरेको छैन। त्यसैले गुनासो बोकेर दुताबास धाउने नेपालीलाई हाम्रा दुताबासले कुनै किसिमको राहत दिन सकिरहेको छैन बरु उल्टै दूतावास धाउनेलाई पनि नेपाली संघ संस्थाको नम्बर दिएर पठाउनु परिरहेको लज्जास्पद स्थिति छ।

त्यसैले खाडी देशमा रहेका नेपाली राजदूतहरुले परराष्ट मन्त्रालयलाई प्रतिबेदन पठाउँदै अत्यावश्यक रुपमा नेपाल फर्काउनु पर्ने कामदारहरुकालागि क्वारन्टिनको ब्यबस्था मिलाउन अनुरोध पनि गरिसकेका छन्।

कतिपय खाडी देशहरूले नै कोरोना भाइरसको संकटका कारण रोजगारी गुमाएका वा बेतलबी बिदामा बस्न बाध्य भएका आफ्ना नागरिक फिर्ता लैजान श्रमिक पठाउने देशहरुलाई अनुरोध गरिसकेको परिप्रेक्ष्यमा बिदेशी भुमिमा नेपाली कामदारहरुले भोग्नु परेको संकटको गंभिरतालाई मनन गर्दै नेपाल सरकारले उनीहरुको उद्दार र घर वापसीमा अविलम्ब जुट्नु पर्दछ। आलटाल गरेर बस्नु हुँदैन।

आफ्ना परिवारका सदस्यलाई स्वदेश फर्कन नदिएको र उनीहरुलाई बिदेशको बिरानो भूमीमा त्यसरी “अनागरिक” बनाएर बेवारिसे हालतमा अलपत्र छाडेको बिरोधमा ती लाखौं परिवारका आफन्तहरु सिंहदरबार घेर्न आईपुगे भने सरकारको हालत कस्तो होला ?

मदन बस्नेत

भक्तपुर, सुर्यबिनायक

हाल: क्यानाडा