फिलिपिन्सले क्यानडालाई भन्यो–आफ्नो फोहोर तत्काल फिर्ता लैजाऊ

क्यानडा विशेष विश्व समाचार

क्यानडाले फिलिपिन्समा ६ वर्षअघि थुपारेको फोहोर फिर्ता लैजान माग गरेको छ । फिलिपिन्सले क्यानडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानडास्थित नियोगको दर्जा कटौती गरेको छ । सन् २०१३ र २०१४ मा क्यानडाले फिलिपिन्सको तटीय इलाकामा सयौँ टन फोहोर फालेको थियो । फिलिपिन्सले फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानडामाथि दबाब दिँदै आएको छ ।

फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सिनले ट्विटमा भनेका छन्, ‘क्यानडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानडाले फोहोर लैजाने काम सुरु नगरे हामी कूटनीतिक दर्जालाई घटाउनेछौँ ।’ उनले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिइएको पनि बताए ।

मनिलास्थित क्यानडेली राजदूतावासले सो विवाद सुल्झाउन प्रयास गरिरहेको जनाएको छ । क्यानडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यत्तिकै राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्यानडाले फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानडा फिर्ता पठाइदिने बताएका छन् । गतसाता राष्ट्रपति दुतेर्तेले फिलिपिन्समा छाडेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोकेका थिए । फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानडा नै फर्काउन आदेश दिएको थियो ।