बहुमतमा ओली, प्रचण्डका चार अध्यक्ष र अल्पमतमा नेपाल

नेपाल समाचार

शेयर गर्नु होस ।

गण्डकी प्रदेशमा नेकपा,विशन क्षेत्री

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ११ महिनापछि सोमबार जिल्ला तहको नेतृत्व टुंग्याएको छ । देशका ७७ जिल्लामा साविकको एमाले र माओवादी केन्द्रले क्रमशः ४४ जिल्ला र ३३ जिल्लामा अध्यक्षको बाँडफाँट गर्‍यो ।

बाँडफाँटमा प्रदेशका ११ मध्ये ४ मा पूर्वमाओवादी र ७ जिल्लामा पूर्व एमालेबाट अध्यक्ष बनेका छन् । नेकपामा ओली, प्रचण्ड, दाहाल र बादल गुट सक्रिय भए पनि गण्डकीमा भने नेकपा अध्यक्षद्वय नै हाबी बने ।

सोमबार सार्वजनिक नामावलीअनुसार ११ जिल्लामध्ये पूर्वएमालेको भागमा परेका अध्यक्षमा ओली समूहबाट ७ मा ६ जना अध्यक्ष बनेका छन् । कास्कीमा कृष्ण थापा, पर्वतमा पदम गिरी, तनहुँमा केदार सिग्देल, मुस्ताङमा चन्द्रमोहन गौचन, मनाङमा पाल्तेन छोयाङ गुरुङ, नवलपुरमा रोशनगाहा सबै ओली समूहका हुन् । बाग्लुङका ईन्द्रलाल सापकोटा चाँही माधव नेपाल समूहका हुन् ।

यीमध्ये पदम गिरी र पाल्तेन छोयाङ गुरुङ संघीय सांसद हुन् भने कृष्ण थापा, ईन्द्रलाल सापकोटा, चन्द्रमोहन गौचन, रोशन गाहा प्रदेश सांसद हुन् । माओवादीको भागमा परेका चारै जना अध्यक्ष प्रचण्ड समूहका हुन् । लमजुङका मधु अधिकारी, गोरखाका लेखबहादुर थापा, म्याग्दीका गोविन्द पौडेल र स्याङ्जाका सूर्यप्रसाद गैरे प्रचण्ड निकट जिल्ला अध्यक्ष हुन् ।

गोरखाका लेखबहादुर थापा प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् भने लमजुङकी अधिकारी समानुपातिक सांसद हुन् । सचिवमा पनि प्रचण्डकै बर्चस्व देखिएको छ । कास्कीमा बखानसिंह तमु, तनहुँ राजेन्द्रकेशरी न्यौपाने, मुस्ताङ सत्यनारायण शेरचन, मनाङ बेदबहादुर गुरुङ, बाग्लुङ ज्ञामनाथ गैह्रे, पर्वत सुदिपकुँवर सबै प्रचण्ड समूहका हुन् । नवलपुरकाख सचिव मित्रशरण शर्मा भने बादल समूहका हुन् ।

एमालेको भागमा परेका चारैजना सचिव ओली समूहका छन् । लमजुङका धनन्जय दवाडी र स्याङजाका मिनप्रसाद गुरुङ प्रदेश सांसद समेत हुन् । गोरखा प्रेम गुरुङ, म्याग्दी हरिकृष्ण श्रेष्ठ पनि ओली समूहकै हुन् ।

एक्ली महिला अध्यक्ष

नेकपाको सोमबार घोषित अध्यक्षको नाममा परेकी प्रदेशसभा सांसद हुन्, मधुमाया अधिकारी गुरुङ । गण्डकी प्रदेशसभामा समानुपातिक सांसद रहेकी अधिकारी, प्रदेशभरिकै एक्ली महिला अध्यक्ष पनि हु्न् । देशभरिका ७७ जिल्लामध्ये ३ जिल्लाध्यक्ष महिलाको नाममा पनि उनी एक हुन् ।

पूर्वमाओवादीको भागमा परेको लमजुङमा उनी एकतापूर्व माओवादी केन्द्रको जिल्ला संयोजक पनि हुन् । जनयुद्धमा श्रीमान आशलाल गुरुङलाई गुमाएकी अधिकारी माओवादी राजनीतिमा सक्रिय थिइन् । 

प्रदेशका मुख्यमन्त्री पनि लमजुङकै पृथ्वीसुब्बा गुरुङ हुन् । नेकपा नेतृत्व पाएकी अधिकारी पहिलो संविधान सभा निर्वाचनमा लमजुङ-२ बाट हालका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भएकी थिइन् । त्यसपछिको दोश्रो निर्वाचनमा समानुपातिकको सूचीमा परे पनि उनी सांसद भने बन्न पाइनन् । 

अधिकारी नेतृत्वको नेकपा लमजुङको सचिवको भाग धनन्जय दवाडीलाई परेका छ । उनी पनि प्रदेश सांसद हुन् । अधिकारी र दवाडी दुबै एउटै गाउँ बिचौरेका हुन् भने नातेदार पनि हुन् ।

कास्कीमा वैरागीको वैराग्य

सोमबार घोषित नामावलीका कारण नेतृत्वको आशा गरेका केही व्यक्ति निराश भए भने केही व्यक्ति नेतृत्व पाउँदा आश्चर्यमा परे । प्रत्यक्षमा जितेका सांसद सचिव बन्दा प्रत्यक्षमै हारेका व्यक्ति अध्यक्ष बनेका छन् । सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरे पनि नेकपाको नेतृत्व पाएका व्यक्तिहरु त्यति सन्तुष्ट पनि छैनन् ।

कास्कीका दामोदार वैरागीले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । फेसबुकमा उनले ५ टुक्का गीत पनि जोड्न भ्याएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकतापछि कमिटी एकीकृत गर्न बनेका मापदण्ड र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसदहरूको रुवाबासी सुन्दा र अहिले कमिटी घोषणा गर्ने बेला बनेका मापदण्ड हेर्दा ५ (पाँच) टुक्रा पुराना गीतको याद आयो भन्दै- ‘फाटेको जालले छेकेको, छेके पनि छर्लङ्ग देखेको हेर गाउँले हो, कोहीलाई भने धनमाथि धनको राश, कोहीको भने घरबासै उठिबास हाम्रो नेपालमा, कोही त भने जहाजमा हररर, कोहीको भने पसिना तररर हाम्रो नेपालमा, कोहीको घरमा कुकुरलाई मासुभात, कोहीको घरमा सधैंको रुवाबास हाम्रो नेपालमा, हिडें म त काले कि आमा गरिबको सुदिन फिराउन, रुञ्चे मुख नलगाउ तिमी हिड बरु जनतालाइ ब्यूँझाउन’ भन्ने टुक्का फेसबुकमा पोष्ट गरेका छन् ।

यसअघि अध्यक्षमा तत्कालीन एमालेका सचिव तथा नेकपाको कार्यदल सदस्य दामोदर बैरागीको चर्चा थियो । तर, उनलाई अध्यक्ष दिइएन । प्रदेश सांसद रहेका कृष्ण थापाले नै अध्यक्ष पाए ।

स्याङ्जा-२ ‘ख’मा कांग्रेसका सांसद भागवत प्रकाश मल्लसँग पराजित भएका सूर्यप्रसाद गैरैले नेकपा नेतृत्व पाएका छन् । प्रत्यक्षमा जितेका मिनप्रसाद गुरुङ सचिवमा घटुवा भएका छन् ।

गोरखा, कास्की र नवलपुरमा अझै अन्योल

जिल्ला तहको नाम घोषणा भएपछि स्थानीय तहको नेतृत्व टुंग्याउन बसेको नेकपा प्रदेश कमिटीको बैठकले ८ जिल्लाका स्थानीय तहको नेतृत्वलाई अन्तिम रुप दिएको छ । सर्वसम्मत नभएका स्थानीय तहको नेतृत्व टुंग्याउने जिम्मा प्रदेश कमिटीलाई छ । जिल्ला संयन्त्रको सिफारिसको आधारमा पर्वत, मनाङ, मुस्ताङ, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ र म्याग्दीका स्थानीय तहको नेतृत्व टुंगो लागेको प्रदेश कमिटीका सदस्य पदम गिरीले जानकारी दिए ।

नवलपु, कास्की र गोरखाले भने स्थानीय कमिटीको नामै सिफारिस गरेको थिएन । “बाँकी ३ जिल्लाको पछि टुंग्याउने निर्णय भएको छ” गिरीले भने, “१ भन्दा बढी आकांक्षी भएका स्थानीय तहको नेतृत्व जिल्ला संयन्त्रको सिफारिसमा प्रदेशले टुंग्याउनेछ ।”