बाँदरमुढे घटनाको १४ वर्ष : सहमति नै अलपत्र , पीडितको पीडा उस्तै

नेपाल समाचार

 चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रुबसमा गराएको विष्फोटपछि ४१ जनाको ज्यान गएको आज १४ वर्ष पुगेको छ । २०६२ साल जेठ २३ गते यात्रुवाहक ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विष्फोटमा पर्दा ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए ।

घटनापछि पीडितको राहतका लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिए पनि पूरा नहुँदा पीडितहले थप पीडा भोगिरहेका छन् । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परी आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।

तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटक–पटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुनसक्ने गरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।

तत्कालीन माओवादीका नेतृत्व सम्हालेका पुष्पकमल दहाल अहिले यो क्षेत्रको सांसद समेत छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका ३ बुंदे सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाई दिने समहमति भएको थियो ।

घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ती दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमूना संग्राहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा भएका छैनन् ।

हरेक वर्षझैँ यो वर्ष पनि पीडित परिवारले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले गुनासो गरे । गएका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उनले बताएका छन् ।

घटना भएको १४ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पीडित परिवारले केही पाउन नसकेको गुनासो गरेका छन् । घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।

बाँदरमुढेमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट माग गरिएको बताउँदै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले आउँदो आर्थिक वर्षबाट काम गर्ने गरी बजेट विनियोजन भएको भन्ने सुनिएको बताउँछन् ।

स्वरोजगार कार्यक्रम अन्तर्गत २५ पीडित परिवारलाई एक लाख रुपैयाँका दरले अनुदान दिन लागिएको ढकालले बताएका छन् । मृतकको सम्झनामा घटनास्थल बाँदरमुढे खोलामा स्थानीय प्रशासन, नेपाली सेना र स्थानीय बासिन्दाबाट उठाएको सहयोग रकमबाट स्मारक निर्माण गरिएको छ ।