बालुवाटारमा आज ‘सारङ्गी साँझ’ र भोज, सचिवालय सदस्य र मन्त्रीहरुलाई निम्तो

नेपाल समाचार मनाेरंजन

१५–१९ माघ सम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठक सकिएलगत्तै केन्द्रीय सदस्यहरुलाई बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारभित्रै अर्को रमाइलो कार्यक्रम आयोजना गरेका छन् । 

कार्यक्रमका निम्तालु छन्, ९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयका सदस्यहरु र प्रधानमन्त्री ओलीको मन्त्री मण्डलका सदस्यहरु । र, सिमित निम्तालुका लागि राखिएको कार्यक्रमको नाम छ, ‘सारङ्गी साँझ’ । 

‘कार्यक्रममा सारङ्गीको धुन बजाइने छ, कार्यक्रम करिब एक घण्टा जति चल्नेछ’ प्रधानमन्त्री ओलीका प्रमख स्वकीय सचिव इन्द्र भण्डारीले नयाँ पत्रिकासँग भने, ‘मन्त्री र पार्टीका शीर्ष नेताहरु कार्यक्रममा उपस्थित हुनुहुनेछ ।’ 

नेकपा सचिवालयमा अध्यक्षसमेत रहेका प्रम ओलीका अलावा सहभागी हुनेमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सदस्य छन् । 

‘कार्यक्रमका लागि पाँच बजे बालुवाटार पुग्न भनिएकाले जाँदैछौँ,’ सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘सारङ्गीको धुनका साथ खानपिनको कार्यक्रम पनि राखिएको खबर आएको छ ।’

पार्टीका सचिवालय सदस्य र मन्त्री मण्डलका सदस्यहरुका लागि राखिएको कार्यक्रम भए पनि अर्का अध्यक्ष प्रचण्ड भने कार्यक्रममा सहभागी हुने छैनन् । उनी नेपाल भ्रमण वर्षको आयोजनामा हुन लागेको कार्यक्रमका लागि मंगलबार दिउँसो पोखरा पुगेका छन् ।

सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओली पछिल्लो समय नेकपाका शीर्ष नेताहरुसँग सघन छलफलमा छन् । यसैक्रममा सोमबार उनले बरिष्ठ नेता माधव नेपालसँग ४ घण्टा छलफल गरेका थिए भने मंगलबार विहान अध्यक्ष प्रचण्डसँग । 

यसैक्रममा सचिवालय सदस्यका साथ मन्त्रीहरुसँग ओलीले पार्टी र सरकारका बारेमा छलफल गर्न लागेको हुनसक्ने नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकालाई बताए ।