बिपीमा १०० श्ययाको कोभिड–१९ अस्पताल सञ्चालनमा

नेपाल समाचार

प्रदेश–१ को सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभाका सदस्य सावित्री जोशी, उमिता बराइली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले आइतबार निरीक्षण गरे।

मुख्यमन्त्री राईले कोरोनाको केन्द्रविन्दु प्रदेश भएकाले यसको उपचार र रोकथामका लागि सरकार गम्भीर भएर कार्य गरिरहेको जानकारी दिए। उनले कोभिड–१९ लाई पराजित गर्न ‘लकडाउन’को अनुशासित ढङ्गले पालना गर्नुपर्ने, सङ्क्रमितलाई व्यवस्थित उपचार तथा सङ्क्रमण विस्तार हुन नदिएर यसलाई पराजित गर्न सकिने धारणा व्यक्त गरे। मुख्यमन्त्री राईले कोभिड–१९ लाई नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण तयारी गरिसकेकाले आत्तिनु पर्ने अवस्था नभएको बताए।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा एक हप्ताभित्र १०० श्ययाको अस्पताल तयार भएको बताउँदै आवश्यक परेको अवस्थामा ५०० श्यया थप गर्न सकिने विचार व्यक्त गरे।