बुद्धजयन्तीका अवसरमा मायादेवी मन्दिरमा प्रार्थना र दीप प्रज्वलन :

नेपाल समाचार

मदन बस्नेत, टाेराेन्टाे । ०८ मे, २०२० ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । 

 कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि वैशाख २५ गते बुद्ध जन्मस्थलमा मनाइने भनिएको २५६४ औँ बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिएतापनी दीप प्रज्वलन, पूजा र प्रार्थना भने निरन्तरता पाएको छ। 

बुद्धजयन्तीका अवसरमा मायादेवी मन्दिरमा बिहान प्रार्थना र साँझ दीप प्रज्वलन तीन दिन सम्म चल्ने र त्यस क्रममा सामाजिक दूरीलाई पूर्णतः पालन गरिने जानकारी लुम्बिनी बिकास कोषले जनाएको छ।

सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा सुरुको दिनमा बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गरेका थिए।

त्यसै दिन साँझ मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीयवासीको सहभागितामा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। त्यस क्रममा गुरुआमाहरुले महापरित्राण पाठसमेत गरेका थिए।

 यस पटकको बुद्धजयन्तीको नारा  ‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने तय गरिएको थियो।