ब्लु माउन्टेन (नील पर्बत), र ओसागा बिचको यात्रा संस्करण !

articles क्यानडा विशेष मनाेरंजन

शेयर गर्नु होस ।

डा. जयराम सिंखडा, क्यानडा ।

ख्यालख्यालैमा घुम्न जाने योजना बन्यो । हामी बसेको टोरोन्टो शहरबाट करीब १७५  कि.मि. जति उत्तरतिर पर्ने निल पर्बत (ब्लु माउन्टेन) घुम्न जाने भनेर । एकैछिनको कुराकानीमा हामी लगाएत​ काठमान्डौंको अमृत क्याम्पस पढ्दा देखि चिनेको आदरणीय​ धन ब. शाहि दाइको परिवार अनि एम्. एस्सी. बनश्पति शास्त्र केन्द्रिय क्याम्पस कीर्तिपूर​मा हामी भन्दा अघिल्लो ब्याज अनि धन दाइको क्लासमेट रविन्द्र (रवि)आचार्य दाइको परिवार तयार भयौं । जुलाई ८, २०२० मा बिहान ८ बजे निस्कियौं आ-आफ्नै साधनमा । लगभग ४ महिनाको कोरोना प्यान्डेमिकका कारण घरभित्र सामाजिक/भौतिक दूरी कायम गर्दा गर्दा अत्तालिएको हामी सबैको मन, पिंजडाबाट निस्कन पाएको चरी जस्तै रमाउने भैहाल्यो । त्यस माथि बाटो वरिपरिका रमणिय दृस्यहरुले कस्को पो मन नरमाउला र ? गृष्म ऋतृ, जता हेरेपनि हरियाली, त्यसमाथि रङ्गिबिरङ्गी फूलहरु । हाइवे ४०१, ४००, मा प्रति घन्टा १००/१२० कि. मि हुदै जति उत्तरतिर गयो उतै नै बस्ति पातलो अनि खेतिपाती बाक्ला हुंदै ग​एको महसुस भयो । बेरि शहर कट्दै  गएपछि बाटोको दुइ तिर आंखाले भ्याउन्जेल देखिने मकै, भट्मास, तोरि, गहुं आदि खेतिका बिभिन्न रङ्गहरुले हामीलाई बडो उत्सुक अनि रोमान्चित​ बनाउदै लग्यो । बिल्कुलै नयां ठाउँ थियो हामी सबैका लागि । इन्टर्नेटमा बिस्तृत रुपमा खासै खोजि पनि गरिएको थियन । गुगल म्यापमा एउटा नजिकैको समुद्रीतट (बिच) को लक्ष्य राखेर हिंडेका थियौं सबैजना । हामी उहांहरु भन्दा थोरै अगाडि निस्किएकोले गर्दा अगाडि नै पुग्यौं त्यो लक्ष्यमा । बाटोमा फोन सम्पर्क गर्दै गएका थियौं । पर्बतको नजिक पुग्दा नपुग्दै मेरो र सुर्या (मेरी धर्मपत्नी) को फ्रिडम मोबाइल्को नेटवर्क चट भैहाल्यो । अगाडि नै डाउनलोड भएकाले नक्साले भने काम गर्दै थियो । साथमा पहिले देखिकै गार्मिनको जि.पि.एस​​. गाडिमा भ​एकाले नक्सामा भने खासै समस्या थिएन । हाइवेको एउटा किनारामा जि.पि.एस​​. ले ‘तपाईको लक्ष्य​ आइपुग्यो’ भनेपछि हामीले गाडिलाइ इमर्जेन्सी बत्ति बालेर किनारामा रोक्यौं । त्यो नौलो ठाउं, शहर बस्तिबाट पर, अनि फोन/इन्टर्नेट नहुंदा एक छिन त अन्यौलमा पर्यौं । मनमा अनेकन फिल्मी कुराहरु खेल्न थाले । अफ्रिकाको अन्कन्टार ठाउॅ वा त्यस्तै डरलाग्दो ठाउॅमा यो अवस्था परेको भ​ए के गर्ने होला, आदि आदि भनेर । उहांहरुलाई त्यहिं कुर्नु भन्दा अर्को कुनै सुरक्षित बिकल्प थिएन । अहिले ७ बर्षकी छोरी जेयिताको एन्जाईटि त निकै उच्च​ हुने भैहाल्यो । तर जसोतसो उन्लाई आश्वस्त पार्यौं । लगभग १५ -२० मिनेट पछाडि धन दाईको होन्डा सि. आर्. भि. आइपुग्यो, सार्है खुशी भयौं । केहि छिन्मा नै रवि दाई आइपुग्नुभयो । सल्लाह अनुसार नजिकै मान्छेहरुलाइ सोधेर हामीले खोजेको ठाउं पत्ता लगायौं । ठुलो तालको छेउमा रहेको त्यो पर्बत नजिक पुग्दा नपुग्दै मन्मा लड्डु फुर्न थालिहाल्यो । हुरोन तालको जर्जियन बे नजिकै पर्ने उक्त ब्लु माउन्टेन निकै रमाइलो रहेछ । बिशेष गरि जाडोमा स्केटिङ्को लागि प्रख्यात त्यो ठाऊ गर्मिमा पनि कम रहेनछ । ब्लु माउन्टेन रेसोर्टमा पुगेर जानकारी लिएपछि पहाडको फेदिमा हाम्रो सुख्खा बनभोज सुरु भयो । लगभग १२ बजेको घाममा, आइस बक्सबाट निकालेको खरभुजाले निकै आनन्दित बनायो । हामी लगाएत धन दाईकी धर्मपत्नी बिनिता भाउजु अनि रवि दाईकी धर्मपत्नी उपमा भाउजुले ल्याउनु भएका मीठा खानेकुरा खाइसकेपछि हामी पहाड चढने काम (हाइकिङ्ग) मा लाग्यौं ।

                नक्सामा जति कि.मि. लेखिएको भ​एपनि उक्त हाइकिङ्ग ट्रेल हामीलाई लामै लाग्यो, सायद उकालो भएर होला । जेयिता सबैभन्दा अघि अघि जोसिएर हिडिरहेकी थिईन्, रबि दाइको करिव ​४ बर्षकी छोरी एलिसाले उनलाइ उत्तिकै पछ्छाइरहेकि थिईन् । उनिहरु सङ्गै धन दाइ, म अनि हाम्रा ३ जना छोराहरु थिए। उकालो हिड्दा मेरो झोला कस्ले बोक्छ भनि जिस्कदा रबि दाईको छोरा आदित्यले म बोक्छु भन्दै, पछि मैले इन्कार गर्दा पनि, बोकेरै छाडेको त्यो क्षणले उस्को दयालू स्वभावको राम्रो परिचय दिईरहेको थियो । जेशनले उस्की बहिनीलाई बेला बेलामा हात समाउदै मद्दत गरेको देख्दा अब त केटा भर पर्दो भ​एछ भन्ने अनूभुति पनि गरायो । ३ जना भाउजुहरु र रबि दाई कुरा गर्दै बिस्तारै उकालो चढ्दै हुनुहुन्थ्यो । स-साना काठे सांघुहरु प्रसस्तै भेटिएका थिए । अरु केहि युगल जोडिहरुलाई पनि बाटोमा भेटियो, तर प्रा:य हामी मात्रै नेपालीमा मजाले हल्ला गर्दै रमाउदै उकालो चढयौं । लगभग शिखरमा पुगेर​ सबै जम्मा भएपछि ताल र शहर देखिने गरि फोटोहरु खिच्यौं ।

फोटो: म​, धन दाइ अनि रवि दाइ कलेज जीवन बिर्साउने पोज दिदै ।

रवि दाइ, सुर्या, बिनिता र उपमा भाउजुहरुले बाटोमा सानो सर्प पनि देखेको कुरा सुनाउनु भयो ।  त्यो हाईकिङ्ग अझै सकिएको थिएन । करिब ५०० मि. जति तेर्सो हिडेपछि गोन्डालामा पुगियो । त्यहां बडेमानको ३ जना सजिलै अटाउने कोकाकोला लेखेको कुर्सी रहेछ, जहांबाट शहर र तालको राम्रो दृष्य देखिने रहेछ । कुर्सिमा बसेर झोलाबाट कोकोकोला खांदै फोटो खिच्यौं । अब कोकोकोला कम्पनिसग बिज्ञापनको पैसा माग्न पर्छ भन्ने हाम्रो ठट्टामा रमाउदै नजिकै रहेको गोरेदाइहरुले हामिलाई भने “कोकोकोलाले हामिलाई डायबिटिज बाहेको अरु केहि दिदैन”, जुन कुरा मनन योग्य थियो । धन दाईको अहिले कम्प्युटर इञिनियरिङ २ बर्षमा पढदै गरेको छोरा लक्षितको  खानपानको सजकता निकै प्रसंसनिय रहेछ । उस्लाई कुनै पनि शोडा युक्त पेय पदार्थ, गुलियो, फ्राई गरेको खानेकुरा मन नपर्ने रहेछ, जुन लगभग अरुको भन्दा उल्टो थियो । निकै खुशि लाग्यो । अझ उ सबैलाई सम्झाउदै थियो- “तपाईहरु सबैले दैनिक अलि अलि  छोड्नु भयो भने बानी सजिलै छुटिहाल्छ नि” । कुरा जति सत्य थियो, त्यतिनै ब्यबहारिक रुपमा कठिन पनि थियो । हामीले हो मा हो मिलायौं मात्र,  तर त्यस्को अमिट छाप बसेको छ ।

 फोटो: सूर्या, उपमा र बिनिता भाउजु ठुलो मेच्मा रमाउदै ।   

      

फोटो: केवल कारबाट झर्दै गर्दाको दृस्य ।

मनकामना केवल कारको झल्को मेटाउदै गोन्डालाबाट हामि केवल कार चढेर तल ओर्लियौं, । फेदिमा झरेपछि गर्न मिल्ने कृयाकलापहरु मध्येको रोलर कोस्टल चढ्ने योजना बन्यो । सुरुमा ससाना नानीहरु जान नपाउने जस्तो लागेको थियो । छोरीहरुले आशा मारिसकेका थिए । सुरक्षाका कारण साना छोरिहरुलाई बुवाहरुले साथ लिएर गएमा हुने भयो । जेयिताले टिकट काटेपछि औधि खुशी हुदै भनिन, “बाबा म यो कहिले पनि बिर्सने छैन, धेरै धन्यबाद”, मन एकैछिन लाई भाबुक भयो । दुइजना सम्म बस्न मिल्ने त्यो सानो कारको अगाडितिर फर्किएर जेयिता बसिन्, म पछिल्लो सिटमा बसें । गाइडको अनुसार मैले मेसिनलाइ आबश्यकता अनुसार रोक्न, ढिलो गर्न र अगाडि बढाउन मिल्ने थियो । ​हाम्रो अगाडिको कारमा रबि दाइ र छोरि चढ्नु भयो । धन दाई, जेसन्, आदित्य, र लक्षित एक एक जना मात्र पछि पछि आउनु भयो, भाउजुहरु तलै गफ गरेर बस्नु भयो । उकालो बिस्तारै गईयो, तर ओर्लदा त तिब्र गतिमा दाया बाया तिर ढल्काउने देखि लिएर ठाडै ओरालोमा स्वाट्ट झार्ने क्रम निकै नै रोमान्चकारी थियो । “हामी बांचेर आयौं ममी” भन्ने छोरिको प्रतिकृया अस्वभाबिक लाग्दैन थियो त्यतीबेला । हामी सबै हास्यौं । अव ढिलो नगरी ओसागा बिचमा जाने सल्लाह भयो र हामी करिव ३५।४० कि.मि. दक्षिण पूर्ब पर्ने उक्त ठाउको लागि निस्कियौं, झन्डै अपरान्ह ४ बजे तिर ।

निकै गर्मिका कारण बिच भरिभराउ रहेछ । उत्तर पश्चिममा ब्लु माउन्टेन सानो देखिने उक्त बिच निकै लामो रहेछ । मान्छेहरु पौडि खेल्दै फर्किएर बालुवामा/मेच्मा अर्धनग्न अवस्थामा आनन्द मानिरहेका करिब ४।५ कि. मि. सम्म देखिन्थे । थुप्रै खालका बोट​, तैरनि सामग्रिहरु सहित मान्छेहरु रमाईरहेका देखिन्थे । छोराहरु आइस कफि खांदै वरिपरि हिडेर नया कुरा खोज्न थाले । कोरोनाको डर थियो, निकै बेरको हिच्किचाहट पछि अनि साना छोरिहरुको जिद्दीलाइ टार्न नसकेर अरुतिर भन्दा मान्छे कम भएको ठाउँ छानेर हामी बाउहरु पौडि खेल्न गयौं । छेउमा फोहोर अनि तातो भएपनि अलि भित्र पुगेपछि चिसो र सफा रहेछ पानी। भाउजुहरु पौडि नखेली त्यतिकै पानिमा मात्र जानु भयो ।

फोटो: ओसागा बिचमा ।

गर्मिको पानी निकै रमाइलो भयो हामी सबैलाई । करिव १ घन्टा जतिको पौडने कार्यक्रम सकेर​, सावर लिईसकेपछि सबैजना नजिकैको पिक्निक स्पटमा गयौं । बचेका खानेकुराहरु खांदै एक्छिन रमाईला कुराहरु अनि समग्रमा त्यो दिनको लेखाजोखा गर्दै करिब ७:३० मा हामी घरतिर फर्कियौं । सांझको बेला, त्यो सुन्दर ठाउँ अनि बाटाको वरिपरिका दृस्यहरुलाई नियाल्दै रमाउदै रमाउदै फर्कियौं । थकाईका कारण छोरी भने एकैछिनमा निदाईसकेकी थिईन् । छोरा जेशनले चिप्स खुवाउदै आयो उस्कै हात्ले । अहिले त खुवाईस, भोलि पर्सि हामी बुढाबुढि भएपनि खुवाउछस् कि के गर्छस त भनेर जिस्किदा “ख्वाईहाल्छु नि” भन्ने उत्तरले अझ खुशि थप्दै थियो । उसका कोरोया बस्दाका सम्झनामा रहेका कुराहरुले अझ आनन्दित बनाउदै थियो, पत्तै नपाई करिव ९ बजे तिर घरमा आइपुगियो ।

अस्तु ॥