भारततिर ढल्केको नेपाललाई ठीक ठाउँमा ल्याउँदै छौं

नेपाल समाचार बिचार

‘नेपाल कतैतिर ढल्केको होइन, आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै छिमेकी देशसँग हामी घनिष्ठ सहकार्यका साथ अगाडि बढ्न खोजेका हौं। हामीले एकपक्षीय निर्भरता र परनिर्भरतालाई अन्त्य गर्न खोजेकै हौं।’
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। त्यसैले दुवै देशबीच नेताहरुको भ्रमण आदानप्रदान, अनुभव साटासाट तथा एकअर्काका असल अभ्यास र सफलताबाट सिक्ने क्रम विगतदेखि नै चलिरहेको छ। यो स्वभाविक हो।

तर, यसबारे अतिरञ्जित र पूर्वाग्रही ढंगले टिप्पणी गर्ने गरिएको छ। नेकपा के मान्यतामा दृढ विश्वास गर्छ भने माक्र्सवादका सिद्धान्तहरु सार्वभौम छन्, ती सबै ठाउँमा लागू हुन्छन्। तर, हरेक देशको परिस्थिति विशिष्ट हुन्छ। त्यसैले, क्रान्तिको बाटो वा क्रान्तिपछि स्थापना हुने जनवादी वा समाजवादी व्यवस्थाका मोडलहरु अरु मुलुकमा दुरुस्त मिल्दैनन्। ती कहीँ पनि आयात वा निर्यात हुँदैनन्। तिनलाई नक्कल गर्न सकिन्न।

माक्र्सवादको सिर्जनात्मक प्रयोग नेकपाले अवलम्बन गरेको एउटा असाध्य महत्वपूर्ण मान्यता हो। यही मान्यताको आधारमा तत्कालीन नेकपा मालेले २०४६ सालको चौथो महाधिवेशनबाटै माओत्से तुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने दृष्टिकोण छाडिसकेको हो।

माओत्से तुङलाई हामी महत्वपूर्ण नेता मान्छौं। उहाँका योगदानहरुबाट प्रेरणा पनि लिन्छौं। तर, उहाँले गर्नुभएको योगदान चिनियाँ क्रान्तिको सन्दर्भमा हो। उहाँका विचारहरु संसारभर लागू हुँदैनन्। नेपालमा पनि लागू हुँदैनन्। हामी झण्डै ३० वर्ष अगाडि नै यस विषयमा प्रष्ट भइसकेका हौं।

नेकपा–माओवादीले लामो समय माओवादलाई आफ्नो मार्गदर्शन मान्यो। त्यसभित्र पनि बहसहरु चल्दै आएका थिए। दुई वर्षअघि पार्टी एकीकरण गर्दा नै माओवादी धारले समेत माओवादलाई छोडेर नेकपा निर्माण गरेका हौं।

चिनियाँ कम्युनिस्ट पार्टीलाई हामी मित्र मान्छौं। चिनियाँ क्रान्तिबाट सिक्नुपर्ने थुप्रै सकारात्मक कुरा छन्। आज चीनले अभूतपूर्व प्रगति गरेको छ। त्यो चाहिँ विश्वका समाजवादीका निम्ति प्रेरक बन्नसक्छ र त्यसका अनुभवबाट सिक्नुपर्छ। तर, हामी चिनियाँ क्रान्तिको पनि नक्कल गर्दैनौं। चिनियाँ समाजवादी मोडलको पनि हामीले हुबहु अनुकरण गर्दैनौं।

हामीले अवलम्बन गरेका बाटो फरक छन्। चीनले आफ्नै खालको बहुदलीय मोडल तय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा अरु ससाना पार्टीको सहयोग रहेको एउटा राजनीतिक मोडल उसले अवलम्बन गरिरहेको छ। हामी बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छौं। र, यही संविधानको बाटो, आवधिक निर्वाचनमा बहुमत हासिल गरेर, जनताको मन जितेर प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर समाजवाद निर्माण गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं। हाम्रो समाजवादमा पार्टीहरुबीच प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राख्छौं, बहुलता र बहुलवादमा विश्वास राख्छौं।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको बाटो अलगअलग छन्, आआफ्ना मुलुकका विशेषताअनुसारका छन्। चीनको इतिहास, चीनको सामाजिक संरचना र चीनले हिँडेको बाटो उसको आफ्नै खालको छ। नेपालको इतिहास, नेपालको भूबनोट, सामाजिक संरचना, सांस्कृतिक विरासत र हामीले हिँडेको बाटो फरक छ।

यो फरकलाई नछुट्याइकन नेकपा चिनियाँ कम्युनिस्ट पार्टीतर्फ ढल्क्यो, अब सी चिनफिङ विचारधारा अवलम्बन गर्न थाल्यो भन्नु एकदम आग्रहपूर्ण टिप्पणी हो। हामीले चीनका अनुभवबाट सिक्न खोजेका हौं। उहाँहरुले आज यो सफलता कसरी प्राप्त गर्नुभयो भन्ने त मलाई लाग्छ, नेकपाले मात्र होइन संसारभरका मुलुकहरुले सिक्नुपर्ने कुरा हो। हामीले मुख्यगरी चीनबाट दुई वटा कुरा सिक्न सक्छौँ।

पहिलो हो, गभर्नेन्स। सी चिनफिङ नेतृत्वमा आएपछि भ्रष्टाचारविरुद्ध एउटा अभियान छेड्नुभयो र बिम्बात्मकरुपले उहाँले टाइगर्स टु फ्लाइ अर्थात् ठूला पदाधिकारीदेखि साना व्यक्तिसम्म सबैलाई कडा नियम लागू गर्ने भन्नुभयो। हामीकहाँ ‘ठूला माछादेखि साना माछासम्म’ कसैलाई नछाड्ने भनेजस्तै।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले आफ्नो अनुभव साट्दा पटकपटक के भन्नुहुन्छ भने सत्तामा रहेको पार्टी विचलित हुने, भ्रष्ट हुने र आदर्शबाट च्यूत हुने जोखिम बढी हुन्छ। त्यसैले उहाँहरुले शुद्धीकरण अभियान चलाउनुभएको छ र कैयौं वरिष्ठ नेताहरु कारवाही भोगिरहेको, जेल परिरहेको, बर्खास्त भएको हामी सुन्छौं। यी अनुभव, सरकारमा रहेको पार्टीको गभर्नेन्स (प्रशासन), आफ्नै पार्टीभित्रको आन्तरिक गभर्नेन्स र उसले प्रदान गर्ने समग्र गभर्नेन्सको एउटा पाटो हामीले सिक्न जरुरी छ।

दोस्रो हो, चीनको विकास। चीनको विकास समकालीन इतिहासको चमत्कार नै हो। त्यसको रहस्य के हो? त्यो राम्रोसँग बुझ्नुपर्छ किनभने ४० वर्षको छोटो अवधिमा ७० करोडभन्दा बढी जनतालाई गरिबीको रेखाबाट माथि उठाउने काम चानचुने होइन। यो त संसारले नै सिक्नुपर्ने कुरा हो, किनभने त्यसो गरेर चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई मात्र गुन लगाएन। समग्र मानवजगतलाई गरिबीबाट मुक्त गर्न योगदान पुर्‍याएको छ। यसबाट सिक्नु गलत हो र? त्यसो गर्दा सरकारमा रहेको पार्टी कसरी जनताको समस्यासँग, विकास निर्माणसँग, जनताको समृद्धिसँग जोडिन्छ भन्ने थाहा हुन्छ।

त्यसकारण, हाम्रा अनुभव आदानप्रदान मूलतः गभर्नेन्स, विकास र समृद्धि, सामाजिक तथा आर्थिक रुपान्तरणसँग सम्बन्धित छन्। बाँकी विषयहरुमा हाम्रा आफ्ना राजनीतिक प्रणाली फरक छन्, अन्य सन्दर्भ फरक छन्। हामी कुनैबेला संसारका वामपन्थीहरुबीच ‘युनिटी विदिन युनिफर्मिटी’ (एकरुपताबीचको एकता) भन्ने पक्षमा थियौं। तर, अहिले हामी ‘युनिटी विदिन डाइभर्सिटी’ (बहुलताबीचको एकता) गर्नुपर्ने निष्कर्षमा पुगेका छौं। किनभने कम्युनिस्ट पार्टीले अवलम्बन गर्ने क्रान्तिका मोडेल फरकफरक हुनसक्छन् र क्रान्तिपछि स्थापना हुने समाजवादका ढाँचा पनि खास समाजको धरातलीय यथार्थमा भर पर्ने कुरा हो। त्यसैले हामीले भिन्नभिन्न राजनीतिक प्रणाली अवलम्बन गरिरहेका समाजवादी मुलुकहरुसँग, कम्युनिस्ट पार्टीहरुसँग, भिन्नभिन्न भाइचारा पार्टीहरुसँगको सम्बन्धको दायरा फराकिलो बनाउँछौं।

आजको चीनसँग सिक्ने धेरै कुरा छन्। पछिल्लो कुरा गर्दा पर्याप्त समय पाएर पनि कैयौं विकसित देशहरु कोभिड–१९ सामु लडखडाइरहेका छन्। चीनले दुई महिनाको बीचमा कोभिडलाई नियन्त्रणमा लिएको हो नि। त्यसबाट पनि सिक्न सकिन्छ होला। धेरैले त्यसलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेरे। तर जजसले स्वतन्त्रताका नाममा आवश्यक सुरक्षा व्यवस्था गर्न सकेनन् त्यहाँ स्थिति भयावह छ। राम्रा कुरा जहाँबाट पनि सिक्न सकिन्छ।

वर्तमान सरकार वा नेपाल चीनतिर ढल्क्यो भन्ने टिप्पणी पनि आग्रहपूर्ण छ। हामीले पटकपटक भनिरहेका छौं– हामी सन्तुलित, राष्ट्रिय हितमा आधारित सम्बन्ध निर्माण गर्छौं। दुवै छिमेकीसँग सहकार्य र साझेदारीका साथ अगाडि बढ्न चाहन्छौं। हाम्रा निम्ति दुईटै छिमेकीको साथसहयोग अपरिहार्य छ। हामी एउटाको मूल्यमा अर्कोतर्फको सम्बन्धलाई बढावा दिन वा उपेक्षा गर्न सक्तैनौं। उहाँहरुबीच विवाद छ। हामीलाई थाहा छ। २१औं शताब्दी एसियाली शताब्दी हो भन्ने गरिएको छ। यो परिवेशमा चीन र भारतबीच जति राम्रो समझदारी, सहकार्य हुन्छ त्यसले यो क्षेत्रको स्थिरता र समृद्धिका लागि त्यति नै बढी योगदान गर्छ। त्यतिमात्र नभई विश्वशान्तिका लागि नै यो उपलब्धी हुनेछ। त्यसैले उहाँहरुबीच दूरी घट्दै जाओस्, सहकार्य बढ्दै जाओस्। हामी यही चाहन्छौं। भारत र चीनबीच विवाद हुन्छ भने हामी कसैको पक्षमा लाग्दैनौं। हामी मेरिट र मुद्दाका आधारमा सम्बन्धलाई अगाडि बढाउँछौं।

अहिले नेपालले चीनसँग बढाएको जस्तै समझदारी वास्तवमा इतिहासमा पहिलेदेखि नै भइरहनुपथ्र्यो। पहिले नेपाल एकातर्फ ढल्क्यो। त्यही एकातर्फको ढल्काइलाई हामीले ठिक ठाउँमा ल्याउन खोजेका हौं। त्यसकारण नेपाल कतैतिर ढल्केको होइन, आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै देशसँग हामी घनिष्ठ सहकार्यका साथ अगाडि बढ्न खोजेका हौं। हामीले एकपक्षीय निर्भरता र परनिर्भरतालाई अन्त्य गर्न खोजेकै हौं। हामी पारवहन सुविधालाई ‘डाइभर्सिफाइ’ गर्न चाहन्छौं। त्यसैले चीनसँग पारवहन तथा यातायात सहमतिमा हस्ताक्षर गर्‍यौं। पछि त्यसको प्रोटोकल विकास गर्‍यौं। हामी भारतसँग मात्र होइन, चीनसँग पनि मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कसँग जोडिन चाहन्छौं ताकि हामीसँग धेरै विकल्पहरु होऊन्।

भूपरिवेष्ठित देश हुनुको नाताले नेपालले बन्दरगाह हुने अरु कुनैपनि मुलुकको तुलनामा हाम्रो उत्पादनमा र यातायातमा समेत २० प्रतिशत बढी मूल्य तिर्नुपर्छ। मानौं कुनै एउटा सामान बंगलादेशमा १०० डलरमा बन्छ भने त्यही चीज नेपालमा बनाउँदा १२० डलर लाग्छ। यसलाई घटाउने एकमात्र उपाय हो– पारवहन तथा यातायात सुविधालाई डाइभर्सिफाइ गर्ने, आधुनिक तथा बहुआयामिक यातायात सञ्जालहरुमा जोडिने। यो नेपालको हितमा छ। यसलाई चीनतिर ढल्केको ठान्नु दृष्टिदोष हो।

माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने र नेपाली क्रान्तिको मौलिक सिद्धान्त तथा बाटो अवलम्बन गर्ने भन्ने नेकपाको मूल चुरो हो। नबुझेर वा पूर्वाग्रही दृष्टिकोणका कारण यो सच्चाइलाई अस्वीकार गर्न खोजिएको छ। काठमाडौँमा गान्धी र गान्धीका दर्शनबारेमा पनि व्यापक बहस हुन्छ नि। म आफैँ वक्ता बन्छु। अरु पनि धेरै बन्नुहुन्छ। त्यससम्बन्धी कैयौँ संस्थाहरु क्रियाशील छन्। त्यसमा कसैले पनि भारतवादी वा गान्धीवादी भयो भनेर टिप्पणी गर्दैनन्। गान्धीवादबाट सिकेजस्तै सी चिनफिङ, माओबाट सिक्न किन नहुने? मार्टिन लुथर किङबाट किन नसिक्ने? बाराक ओबामाबाट राम्रा कुरा सिक्न किन नहुने? हामीले ख्याल गर्नुपर्ने मूल कुरा हामी हाम्रो बाटोबाट विचलित हुनुभएन। त्यसमा हामी प्रष्ट नै छौं।

पछिल्लो समय चिनियाँ राजदूतको सक्रियता भनेर जुन ढंगले टिप्पणी गरिएको छ, त्यसमा पनि म दृष्टिदोष देख्छु। चीनको एउटा घोषित नीति नै छ। उसले अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। त्यसैले चीनप्रति विकासशील देशहरुको विश्वास र सहकार्य छ। उसले साना र विकासशील देशहरुको एड्भोकेसी गर्छ, कतिपय मुद्दामा पहलकदमी पनि गर्छ। तसर्थ, चीनले हस्तक्षेप गर्ने र नेपालले त्यसलाई स्वीकार्ने भन्ने कुनै पनि हालतमा हुँदैन।

नेकपाको एकीकरण आफ्नै बलबुतामा भएको हो। आरोप लगाउनेहरुले अरु कसैले भनेर गरिएको एकता भने। त्यसो भए अहिले समस्या किन आयो त? एकता पनि हामीले गरेका हौं, समस्या पनि हामी आफैंले निम्त्याएका हौं र यो समाधान पनि हामी आफैँले गर्ने हो। हामी सिक्छौं तर हिँड्छौं आफ्नै बाटो। किनभने नेपालको इतिहास, सामाजिक संरचना र जनताको मनोविज्ञान आफ्नै खालको छ।

नेकपा सर्वसत्तावादको बाटोमा हिँड्न लाग्यो भन्ने आरोप निराधार छ। केही पहिले संसदमा एकचोटी प्रचण्डले एउटा भाषणमा भन्नुभयो– यो बहुदलीय व्यवस्था अवलम्बन गरेपछि कतिपय समाजवादी देशमा जस्तो ड्याङ कि ड्याङ निर्णय गरेर अघि बढ्न नमिल्ने रहेछ, बडो झन्झटिलो हुँदो रहेछ। भोलिपल्ट केही पत्रिकाले नेकपाको सर्वसत्तावाद देखियो भनेर सम्पादकीय नै लेखे।

लोकतन्त्र अलिकति झन्झटिलो प्रक्रिया हो, यो प्रक्रियामुखी हुन्छ, निर्णय प्रक्रियामा ढिलाइ हुन्छ भन्ने त यो संसारभरको प्राज्ञिक बहसमा आएको विषय हो। प्रचण्डले लोकतन्त्रकै विकल्प चाहिन्छ भनेको त होइन नि। त्यही झन्झटिला प्रक्रियाबारे शेरबहादुर देउवाले भनेको भए क्या गजब भन्ने टिप्पणी हुन्थ्यो। प्रचण्डको पृष्ठभूमिमा रातो झण्डा भएकाले सम्पादकीय नै आयो। त्यसैले यस्ता आग्रहपूर्ण टिप्पणी आइरहन्छन्।

(परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ओ आलेख नेकपा–चीन सम्बन्ध श्रृंखलाको चौथो खण्ड हो)