भारतमा रेल चलेपछि सीमावर्ती पानीटेंकीमा जम्मा भए करिब ४ सय नेपाली

नेपाल समाचार स्वास्थ्य

झापा : भारतमा ट्रेन चल्न थालेपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय बजार पानीटेंकीमा जम्मा भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाको जानकारीमा आएसम्म मंगलबारसम्ममा करिब ४ सय नेपाली पानीटेंकीमा जम्मा भएका हुन्।

तर करिब एक हजार जना नेपालीहरूका लागि व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको झापाका प्रमुख जिल्ला अधिकार उदयबहादुर रानाले जानकारी दिए।

भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।

संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका छैनन्।
भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले चेतावनी दिइरहेका छन्।