‘भारतीय सीमा नाका, टेस्ट र ट्रेसिङमा गल्ती भएकै हो’

स्वास्थ्य

२८ वैशाख, काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणको (कोभिड-१९) केस देखिएको ५८ दिनपछि चैत १० गते दोस्रो केस भेटियो । पहिलो केस कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो भने दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनीसँगै कतार एयरवेजको क्युआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा पनि संक्रमण देखियो । तर, दोस्रो केस भेटिँदासम्म पनि लकडाउन घोषणा गरेका सरकारी अधिकारी समेत नेपालमा कोरोना संक्रमण नबढ्ने विश्लेषण गरिरहेका थिए ।

जब चैत ३० गते वीरगञ्जमा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भयो, अनि मात्र उनीहरू सतर्क भए । त्यतिञ्जेल आवश्यक उपकरण र पूर्वतयारी गर्न ढिला भइसकेको थियो । किनकि त्यसपछि नेेपालका विभिन्न स्थानमा कोरोनाका संक्रमित भेटिएका छन् ।

वैशाख ५ गते १४ जना संक्रमित थपिए । उदयपुरको भुल्केमा १२ र चितवनमा दुईजनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो । अर्थात् एकबाट दुई हुन दुई महिना लाग्यो तर तीस हुन ३० दिन पनि लागेन । उदयपुरको भुल्के, वीरगञ्ज र पछिल्लो समय नेपालगञ्ज कोरोनाको हटस्पट बनेको छ र महिना दिन नपुग्दै संक्रमितको संख्या ३० बाट ११० पुगेको छ ।


प्रदेश ६ बाहेक हरेक प्रदेशमा संक्रमण देखिएको छ । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि कोरोना नियन्त्रण गर्न नसकिने पो हो कि भन्ने डरले नयाँ रणनीति बनाउन जुटेका छन् । मन्त्रालयका एक विज्ञ भन्छन्, ‘अबको रणनीति भनेको संक्रमण देखिएको ठाउँमा व्यापक टेस्ट गर्ने नै हो ।’

अहिले भुल्के, वीरगञ्ज र नेपालगञ्जमा समुदाय स्तरमै संक्रमण फैलिएको आशंका गरिएको छ । साथै सरकारी अधिकारीहरूलाई अर्को नयाँ ‘हटस्पट’ भेटिन्छ कि भन्ने डर उत्तिकै छ । दक्षिणी छिमेकी मुलुक भारतबाट हरेक दिन लुकिछिपी नेपाल छिरेको रिपोर्टिङ भइरहेको स्वास्थ्य मन्त्रालयका एक विज्ञ सुनाउँछन् । ‘स्वास्थ्य मन्त्रालय एक्लैले नसक्ने भयो’ उनी भन्छन्, ‘दिनहुँ भारतबाट मानिसहरू आइरहेका छन् । यो अवस्थामा नयाँ हटस्पट नबन्ला भन्ने के ग्यारेन्टी ?’

नाम उल्लेख गर्न नचाहने मन्त्रालयका विज्ञहरू सरकारले तीनवटा गल्ती गरेको र यही कारण कोरोना संक्रमण नियन्त्रण बाहिर जाने सम्भावना बढेको सुनाउँछन् ।

टेस्ट र ट्रेसिङ र लकडाउन कार्यान्वयनमा सरकार चुकेको उनीहरूको निष्कर्ष छ । लकडाउनको समयमा भारतबाट अवैध रुपमा मानिसहरू आउन नदिएको भए संक्रमण फैलिएर भयावह हुने त्रास नबढ्ने उनीहरूको तर्क छ । ‘किनकि हामीले संक्रमणको सम्भावना भएकाहरूलाई अनिवार्य क्वारेटाइनमा बस्न भनेका थियौं र लक्षण भएकाहरूलाई टेस्ट पनि गरेका थियौँ’ उनी भन्छन् ‘संक्रमित मानिसहरू छिर्न नपाएपछि एकले अर्कोलाई कसरी सार्थे र ?’

स्वास्थ्य मन्त्रालयका अर्का विज्ञका अनुसार अहिले हटस्पट बनेको क्षेत्रमा देखिएका अधिकांश केसको संक्रमण स्रोत भारत छ । नेपालका ११० संक्रमितमध्ये ८५ जनाभन्दा बढी संक्रमणको स्रोत भारतबाट आएका नागरिक छन् ।

कञ्चनपुरमा देखिएको स्थानीय संक्रमणबाहेक फ्रान्स, बेल्जियम र दुबईबाट आएकाले अरूलाई संक्रमण सारेनन् । त्यसैले सरकारले संक्रमण व्यापक नहुने आकलन गरेको थियो । तर, एकाएक भारतबाट नेपाल छिरेकाहरूमा संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारको आकलन र रणनीति दुवै फेल खाएको छ । ‘अब पनि पहिलाको गल्तीबाट सिकेनौं भने भयावह अवस्था भोग्नुबाहेक अर्को विकल्प छैन’ उनी भन्छन्, ‘हामीले गल्ती गरेकै हो, अब त्यस्तो गल्ती दोहोर्‍याउँदैनौं ।’

उनका अनुसार संक्रमण यो अवस्थासम्म फैलन सक्ने आकलन गर्न नसक्नु पनि सरकारको कमजोरी हो । परीक्षण किटलगायतका स्वास्थ्य उपकरणहरू समयमै जोहो गर्न नसक्नु दोस्रो गल्ती हो । लकडाउनलाई प्रभावकारी बनाएर टेस्ट र ट्रेसिङ गर्न नसक्नु तेस्रो गल्ती । ‘यस्तो महामारी पहिलो पटक भोगिरहेकाले पनि के गर्ने, के नगर्ने अलमल भयो’ उनी भन्छन्, ‘अब पनि अलमल गर्ने छुट छैन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा उपचार गराइरहेका ३४ संक्रमितमध्ये १४ जना निको भएर घर फर्किएका छन् । प्रदेश २ का ३१ संक्रमितमध्ये ४ जना निको भएका छन् । वागमती प्रदेशका सातमध्ये छ जना निको भइसकेका छन् भने गण्डकी प्रदेशका दुवै संक्रमित निको भएर घर फर्किएसकेका छन् । प्रदेश नम्बर ५ मा देखिएका ३० जना संक्रमितको उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा संक्रमण देखिएका पाँच जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोना संक्रमण देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भन्छन्, ‘डिस्चार्ज भएर घर फर्किएकाहरू औसतमा १९ दिन अस्पताल बसेका छन् ।’