भारतीय सेना अबिलम्ब फिर्ता हुनुपर्छ: गैरआवासीय नेपाली संघ (ICC)

NRNA प्रवास

एमखबर न्यूज डेस्क, क्यानाडा। १२ मे, २०२० । गैरआवासीय नेपाली संघले भारतले नेपाली सिमा अतिक्रमण गरी चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको विषयमा संस्थाको तर्फबाट कडा शब्दमा बिरोध जनाएको छ।

संघले, भारतले केही अघि एकतर्फी रुपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएतका नेपाली भू-भाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेको र अहिले थप हस्तक्षेप गर्दै सो क्षेत्रमा अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप गर्दै सडक निर्माण गरेकोमा घोर भत्सर्ना गरेको छ।

गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष कुमार पन्तको नाममा जारी गरिएको बक्तब्यमा नेपालको भूमि अतिक्रमण गरी भारतले प्रकाशित गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अबिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग गरेको छ।