भारतीय हस्तक्षेपका विरुद्ध विश्वभरका जनसम्पर्क समितिहरुले गरे कडा विरोध (संयुक्त विज्ञप्ति)

NRNA क्यानडा विशेष प्रवास

नेपाली कांग्रेसका प्रवासको कमिटिको रुपमा रहेका विश्वभरिका नेपालीजनसम्पर्क समितिकाका३४ जना सभापतिहरुले नेपाली भूमिमा भारतले बनाएको सडकको बिरुद्धमा विज्ञप्ति निकालेका छन् । नेपाल भारतमा लकडाउनको मौका छोपी भारतकाले धार्चुला – लिपुलेक लिङ्क रोड (नयाँ सडक) बनाएको विरोधमा एक संयुक्त विज्ञप्ति निकालेका हुन् ।

यस्तो छ भारतले गरेको सीमा हस्तक्षेपका विरुद्ध विश्वभरका जनसम्पर्क समितिको संयुक्त विज्ञप्ति

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भर्त्सना गर्दछौं । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले यो विषयको समाधान खोज्न अनुरोध पनि गर्दछौं ।

विश्वका जुनसुकै कुनामा बसेपनि मूलत: हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछौं ।

एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न । ऐतिहासिक दस्तावेज,सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट छ । तसर्थ अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौं ।

सीमाको विषय अति संवेदनशील छ । यो विषयमा कुटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमूख दायित्व हो । तर राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिष्ट सरकारको असली राष्ट्रवादको अनुहार यतिबेला उदाङ्गो भएको छ । सरकारको निकम्मापन यो बेला अझ बढी देखियो । यसबाट थप पुष्टी हुन्छ कि वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको छ । देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसक्ने सरकारका प्रतिसमेत खेद व्यक्त गर्दछौं ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुन: एकपटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।
नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौं ।
जय नेपाल ।