मनाङे वामदेव पक्षमा, गण्डकी प्रदेश सरकारको दुईतिहाइ गुम्यो

नेपाल समाचार

पोखरा । मनाङ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा लागेका छन् । उनले आफू नेकपामा कहिल्यै नगएको र दुईतिहाइ पुर्‍याइदिन मात्र सहयोग गरेको बताएका छन् । मनाङेको यो कदमले गण्डकी सरकारको दुईतिहाइ गुमेको छ ।

निर्वाचित भएको एक वर्षपछि मात्र सांसदको हैसियत पाएका मनाङेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मा नेकपा प्रवेश गराएका थिए । तर, उनी नेकपाको सदस्य भएको कुनै प्रमाण छैन ।

“म नेकपा भएको भए त कुनै आधिकारिकता हुन्थ्यो होला नि । मसँग केही छैन, दुईतिहाइ मात्र पुर्‍याइदिएको हुँ,” उनले भने । नेकपाको सांसद् भएको भए आफू मन्त्री बन्ने उनले बताए ।

“म मन्त्री बन्थेँ नि, कहाँ यी नेताको अन्डरमा बस्थेँ म ?” उनले भने । नेकपाको विवाद सर्वोच्च र निर्वाचन आयोगमा चलिरहँदा मनाङेले एकाएक वामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानको केन्द्रीय सदस्य बनेका हुन् ।

“अब मिलाउनुपर्छ भनेर लागेको हुँ । मिलाउन त पर्‍यो,” उनले भने । नेकपाका नेता वामदेव गौतम आफैंले फोन गरेर सांसद मनाङेलाई पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेको उनले बताए ।