मन्त्रालयमै भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई उल्टै पाठ पढाएपछि…

नेपाल समाचार विश्व समाचार

काठमाडौं – भारतले बल मिच्याई गर्दै नेपाली भूमि लिपुलेक अतिक्रमण गरि सडक निर्माण गरेपछि पुनः चर्किएको विवाद अहिले उत्कर्षमा छ । नेपालमा भने भारतले गरेको यस्तो कार्यको जनस्तरबाट विरोध भैरहेको छ ।

कोरोनाको महामारीमा थालिएको बेला एकाएक भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोवर जान बनाएको बाटो उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ ।

बिरोध जनस्तरबाट चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय पक्षलाई ध्यानाकर्षण गराएको थियो । त्यसको काउन्टरमा भारतको विदेश मन्त्रालयले लगत्तै वक्तव्य जारी गर्दै लिपुलेकमा बनाइएको सडक भारतीय भूमिमा रहेको दावी गर्‍यो।

नेपालका केहि दल र सरकारले आधिकारिक धारणा सार्वजनिक समेत गरेपछि भारतले अहिले वार्ता गर्न नसकिने जनाएको थियो । घटनाक्रमले अर्कै मोड लिने देखिएपछि वाध्य भएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं स्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाए । कतिपयले यो विषयलाई स्पष्टिकरण सोधिएको भन्न समेत भ्याए ।

उक्त विषयलाई परराष्ट्र मन्त्रालयले सोमवार ट्वीट गर्दै जानकारी गरायो- ‘परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमा विषयमा नेपाल सरकारको स्पष्ट धारणा राख्नुभयो। र, यस विषयमा कुटनीतिक नोट हस्तान्तरण गर्नुभयो।’

एउटा कर्मचारी तहको कुटनीतिज्ञलाई कुटनीतिक नोट दिन परराष्ट्रमन्त्री नै किन अगाडि सरे? सामाजिक सञ्जालमा यस विषयमा चर्चा चलिरहेको छ। सामाजिक सञ्जालमा मन्त्री ज्ञवाली र राजदूत क्वात्राबीचको भेटको तस्विर भाइरल भइरहेको छ। भेटमा राजदूत क्वात्रा सामान्य शिष्टाचार मर्यादा विपरीत उपरखुट्टी लगाएर बसेको देखिन्छ।

त्यस्तै, मन्त्रीले नभइ परराष्ट्र सचिवले राजदूतलाई नोट दिनुपर्नेमा मन्त्री नै लाचारी देखाएर उपस्थित भएको भन्दै आलोचनासमेत सुरु भएको छ। परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै कुटनीतिक नोट दिएको बताइरहेका बेला काटमाडौंस्थित भारतीय दूतावासले ट्वीट गर्दै परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत सरकारको पोजिसन स्पष्ट रुपमा राखेको जानकारी गराएको काउन्टर ट्विट जारी भएको छ।

दूतावासले भारत सरकारको तर्फबाट भारतीय विदेश मन्त्रालयका प्रवक्ताको प्रतिक्रियासमेत परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरेको जानकारी गराएको छ।

‘हालै उद्घाटन गरिएको सडक खण्ड उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला पूर्णरुपमा भारतीय भूमिमा पर्छ। सडक पूर्ववत रुपमा कायम रहेको कैलाश मानसरोवर यात्रा रुटमा बनेको हो। अहिलेको योजनाले सोही सडकलाई नै तीर्थयात्री, स्थानीय व्यापारीहरुको सुविधाका लागि स्तरोन्नती गरिएको हो,’ विदेश मन्त्रालयका प्रवक्ताले शनिवार भनेका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपाल सरकारले सीमासम्बन्धी विषयलाई छलफल गर्नका लागि संयन्त्र बनाएको भन्दै नेपालसँगको सीमा रेखा कोर्ने काम अगाडि बढिरहेको बताएका थिए। उनले भारत कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनाएका छन्।

प्रवक्ताले कोभिड-१९ को आपतकाल सकिएपछि कुटनीतिक छलफल अगाडि बढाइने बताएका थिए। भारतीय दूतावासको ट्वीटले यही वक्तव्य परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाएको स्पष्ट गरेको छ।

तर, परराष्ट्र मन्त्री ज्ञवालीले दिएको नोटमा के उल्लेख गरिएको छ भन्ने कुरा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन।