मलाई प्रधानन्यायाधीश बन्‍न नदिन धेरै तिकडम भए : सुशीला कार्की

नेपाल समाचार

शेयर गर्नु होस ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै तिकडम भएको बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमानलाई सम्मान सत्रलाई सम्बोधन गर्दै कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको बताएकी हुन् ।

उनले भनिन्, ‘काम सुरु गर्दा म प्रधानन्यायाधीश हुने लाइनमा हुन्छु भन्ने थाहा थिएन । कसैले भनेपछि हो रहेछ भन्ने भयो । सिनियर न्यायाधीशहरूले मेरो इमान्दारिता देख्नु भएको थियो । मलाई प्रधानन्यायाधीश हुन नदिन कति तिकडम भए । तर मैले एकरति त्यता ध्यान दिइनँ । म अलिअलि भगवान‍्मा पनि आस्था राख्ने भएकाले ईश्वरले नेपालको पहिलो प्रधानन्यायाधीश मलाई नै बनाउँछन् भन्ने विश्वास लागेको थियो ।’ इमान्दारिता देखाएर आफू सफल भएको र लडाइँ जितेको कार्कीले बताइन् ।

त्यस्तै कार्कीले आफूले वकालत गर्ने बेलामा उक्त पेसामा महिलाहरू निकै कम भएको बताइन् । उनले भनिन्, ‘त्यस बेलामा औंलामा गन्ने अग्रजहरु हुनुहुन्थ्यो । कुनै पनि कामको लागि विशेष त महिलाका लागि लगनशीलता निर्भीक र सक्रिय भएर काम गर्न सक्ने क्षमता हुनुपर्दछ । यी सबै भयो भने महिलाहरु काम गर्न सक्छन् । ३१ वर्षसम्म मैले आफ्नो पेसा छोडिनँ ।’