माघ १२: सहिद धर्मभक्तले शाहदत पाएको दिन !

नेपाल समाचार विविध

एमखबर डेस्क, क्यानाडा। जनवरी २४, २०२१। आज माघ १२ गते। आज कै दिन राती १२ बजे पशुपतिनाथ जाने बाटो सिफलमा सहिद धर्मभक्त माथेमालाई फाँसीमा चढाईएको थियो।

काठमाडौं जोरगणेशको धर्मभक्त माथेमाको परिवार दरबारसँग हिमचिम भएको खातापिता परिवार थियो । धर्मभक्तका पिता आदिभक्त राणा शासनका सुब्बा थिए, र राणाहरूको आवश्यकताका सामग्री किनमेल गर्न उनी भारतको कलकत्ता शहरमा आतेजाते गरिरहन्थे। त्यही चिनजान र पहुँचका कारण धर्मभक्तले पनि उतै पढ्ने अवसर पाएका थिए।

धर्मभक्त बंगाल च्याम्पियन शारीरिक सुगठक (बडी बिल्डर) थिए। उनको त्यही सीप बुझेर राजा त्रिभुवनलाई शारीरिक सुगठन तथा  खेलकुदको अभ्यासको प्रशिक्षण दिन शहीद धर्मभक्तलाई दरबारले खेल प्रशिक्षकको रुपमा दरबारमा जागीर दिएको थियो। 

बिज्ञापन

धर्मभक्त खेलकूदका अतिरिक्त राजनीतिमा पनि निकै रुचि र चाख राख्दथे। राजा त्रिभुवनको खेल प्रशिक्षक रहेकै बेला एक दिन राजा र प्रजापरिषदका नेताहरूको लैनचौरमा गोप्य बैठक भएको थियो जसको सूचना जुद्ध शम्शेरकहाँ पुगेपछी उनी पक्राउ परे र राजद्रोहको अपराधमा उनलाई तात्कालिक राणा शासक जुद्द शम्शेरले मृत्युदण्ड सुनाएका थिए।