‘माधब नेपाललाई खिरै खिर’, ‘प्रचण्ड भने खोलाको तिरै तिर’ ! मदन बस्नेत, क्यानडा ।

विविध

बिगतमा भुसको आगो झैं भित्र भित्रै सल्किदै गएको सतारुढ घटक नेकपा भित्रको बिबाद र अन्तरकलहले अध्यादेश प्रकरणसँगै यतिखेर डढेलोको रुप ग्रहण गरिसकेको छ र दिन प्रती दिन झन झन उग्र बन्दै गएको त्यो डढेलोले कुन गुटलाई भस्म खरानी बनाउने हो र कुन गुटका नेताको ताजपोसी हुने हो, त्यो हेर्न भने अलि दिन कुर्नै पर्ने भएको छ।

सर्सर्ती हेर्दा, प्रधानमन्त्री केपी ओलीका विरुद्ध पार्टीका अर्का अध्यक्ष कमरेड प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम लगाएतका सबै असन्तुष्ट नेताहरूले खुलेयाम मोर्चा बन्दी गरेपछि ओली निकै अप्ठेरो घेराबन्दीमा परेको देखिन्छ। सचिवालय, स्थायी समिति र पार्टी केन्द्रीय कमिटी सबैतिर पनि  प्रधानमन्त्री ओली, स्पष्ट रुपमा अल्पमतमा परेको प्रष्ट हुन्छ।

पार्टीको जिम्मा प्रचण्डले पाउने र सरकारको नेतृत्व माधब नेपालले लिने तथा झलनाथ खनाललाई भबिष्यमा रास्ट्रपति र बामदेब गौतमलाई पार्टी र सरकारमा सम्मानजनक स्थान दिने गरि आन्तरिक सहमति गरिसकेको हुनाले अब प्रधानमन्त्री केपी ओलिको दिन गन्ती सुरु भो भन्ने चर्चा परिचर्चाले पनि बजार राम्रोसँग ताती रहेको छ। तर बजारमा चर्चा चले जस्तै, यति सजिलै ओलि सत्ताच्युत होलान् र बिना प्रतिबाद पिठ्यु फर्काएर लुरुलुरु बालकोट फर्केलान् भन्ठान्नु चैं मुर्खता नै हुनेछ।

 राजनीति सधैं सिधा रेखाबाट मात्रै अघि बढ्दैन। जुन पासोमा ओलीलाई फसाउन खोजिदैंछ त्यही पासो उल्टिएर पासो फ्याक्ने शिकारी नै त्यो पासोमा पर्यो भने आश्चर्य नमाने हुन्छ। “ढाडमा टेकेर टाउकोमा हान्ने” छापामार युद्ध नीतिलाई बखुबी निभाउन सफल देखिएका कमरेड प्रचण्डको उपयोगिताको नीति, ओलिले अबलम्बन गर्ने अबको तिकडमको अगाडी फिक्का पर्ने अड्कलबाजीले राजनीतिक बजार गर्माएको छ।

जुन अस्त्र र शस्त्रले प्रचण्डले ओलीमाथि प्रहार गरेका हुन् त्यही अस्त्र र शस्त्रलाई नै ओलीले प्रचण्ड तर्फ फर्काईदिने संभावना पनि त्यत्तिकै प्रबल देखिन्छ। पार्टी बित्रको बढ्दो ध्रुवीकरणलाई किनारा लगाउन ओली माधब नेपाललाई फकाउनर रिझाउन लागिसकेका छन्। पार्टी महाधिवेशन पछी अध्यक्ष बनाईदिने ओलिको प्रस्तावलाई उधारोमा नमान्ने, नगदानगदी नै हुनु पर्ने माग माधब नेपाल पक्षबाट आएपछि माधब नेपाल पक्षका केहिलाई प्रदेश सरकारको  मूख्य मन्त्री दिने र केन्द्रको बर्तमान मन्त्रीमण्डल पुनर्गठन गरेर भागबन्डा मिलाउने र त्यतिले पनि कुरा नमिले पार्टी अध्यक्ष नै दिने रणनीतिमा पनि ओली लागेका छन्। कोटेश्वर बैठक त्यसैको एउटा कडी हो। यसबाट पनि कुरो बनेन र माधब नेपाल पक्षले मान्दै मानेन भने बरु माधव नेपाललाई नै प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी फेरि पनि आफै भएर प्रचण्डलाई जसरी भएपनि तह लगाएरै छाड्ने मनस्थितिमा ओली पक्ष पुगेको देखिन्छ। माधब नेपाल पक्षलाई मिलाइसके पछी बामदेब र झलनाथहरु पनि आफै थामथुम हुने र त्यतिले पनि नभए उनिहरुको माग अनुसार नै नरम गरम मिलाउने तर प्रचण्डलाई भनें कुनै हालतमा पनि सरकार र पार्टीमा हावी हुन नदिने मनस्थिति ओली पक्ष पुगेको देखिन्छ।

बिगतमा ओलिले आफू र आफ्ना पक्षलाई बाईपास गरेको र खाईपाई आएको बरियताबाट घटौती गरेर अपमानित गर्दा समेत प्रचण्डले ओलीलाई नै साथ दिएको माधब नेपालले पक्कै पनि बिर्सिएका छैनन्। प्रचण्ड अति नै महत्वाकांक्षी छन् र पार्टी र सरकार दुबैको नेतृत्वमा पुग्न जस्तो सुकै हर्कत गर्न पनि पछी पर्दैनन् भन्ने कुराको हेक्का पनि उनलाई राम्ररी नै छ। त्यस्तो स्थितिमा प्रचण्डसंग मिलेर ओलीको विरुद्धमा जानू भन्दा ओलिसंग मिलेर सत्ता र पार्टी भित्रको शक्ति हाँसिल गर्नु नै बुद्धिमानी हुनेछ भन्ने नेपाल पक्षको आन्तरिक मुल्यांकन रहेको बुझिन्छ।

प्रचण्ड अरुलाई लडाउने, फुटाउने र मौका छोपेर आफुले उचाई हाँसिल गर्ने नेता हुन् भन्ने उनको बिगतबाट प्रष्ट नै छ। राजालाई फाल्नु पर्दा गिरिजालाई रास्ट्रपतिको प्रलोभन दिए तर जब गणतन्त्रको घोषणा भयो तब गिरिजाप्रसादलाई उनले धोखा दिए। माधब नेपाल नेतृत्वको छँदाखाँदाको सरकार विरुद्ध घेराबन्दी गरेर झलनाथ खनाललाई उफारेर माधब सरकार गिराउने पनि उनै प्रचण्ड नै थिए। पछी देउवासंग मिलेर एमाले बाहेकको सरकार पनि बनाए र  एमाले विरुद्ध मोर्चाबन्दी पनि गरे। अनि फ़ेरि उनै देउवालाई सुइँको समेत नदिएर रातारात एमालेसंग पार्टी एकता गरेर चुनाबको मुखमा देउवालाई समेत तीन बल्ड्याङ खुवाए। प्रचण्डको यस्तो जुधाउने, फुटाउने र अरुलाई लडाउएर आफु मात्र अघि बढ्ने अबसरबादी चरित्र, माधब नेपालले राम्ररी नै बुझेका छन्। त्यसैले उनी प्रचण्डसंग होईन ओली संग मिल्दा नै आफ्नो भबिष्य सुरक्षीत देखिरहेका छन्। र, प्रचण्ड समुहका माओबादीलाई भन्दा एमाले कै ओली पक्ष संग काम गर्न सजिलो हुने र ओलीको स्वास्थ्यले पनि साथ नदिईरहेको अबस्थामा पछी सम्पूर्ण ओली समुहलाई नै आफुमा समाहित गर्ने संभावना पनि देखिरहेका छन्। त्यसैले माधब नेपाल यतिखेर ओली र प्रचण्डलाई जुध्न दिने र त्यसबाट फाईदा हात पार्न सकिन्छ पार्ने रणनीतिमा छन्। ओलि समूह संग हिजोको कोटेश्वर बैठक त्यसैको सुरुवात हो।

अध्यादेश प्रकरणसँगै बढेको नेकपा भित्रको अहिलेको विवाद र ध्रुवीकरणमा ओली र प्रचण्ड दुबैले हार्ने निश्चिति छ भने माधब नेपालको चाहिं दुबै हातमा लड्डु पर्ने प्रष्टै छ। ओलीले नटेरे प्रचण्ड र प्रचण्डले नेहेरे ओली, जता लागे पनि र जो संग मिले पनि नेकपा भित्र अहिले जोडतोडले चलिरहेको समुन्द्र मन्थनमा अमृतको घडा भने माधब नेपालले नै हात पार्ने देखिन्छ।

पुरानो एमालेलाई खर्लप्पै निल्ने र पार्टी र सत्ता सबैतिर कब्जा जमाउने प्रचण्डको रणनीतिले आकार लिन पाउने हो वा माधब ओलीको नयाँ गठबन्धनले चकनाचुर हुने हो त्यो हेर्न भने अझै अलि दिन कुर्नु पर्ने छ। मर्ता क्या न कर्ता भने झैं प्रचण्डलाई सत्ता वा पार्टी हात पार्न दिनु भन्दा पुर्ब एमाले माधब नेपाल कै पोल्टामा सम्पुर्ण शक्ति हालिदिने जुक्तीलाई ओलीले अन्तिम अस्त्रको रुपमा प्रयोग गर्ने  संभावना पनि प्रबल छ। भेडा भेडा संग र बाख्रा बाख्रासंगको त्यही नीति अनुरुप अहिले ओली र माधब पक्षका नेताहरुको चोटे कोठे बैठकहरु बाक्लिन थालेका छन्। माधब – ओली पक्षका दोस्रो पुस्ताका नेताहरुले पनि पुर्ब एमाले पक्षधरहरु बीच नै  एकता हुनु पर्ने र प्रचण्डको माओवादी गुटलाई किनारा लगाउनु पर्ने निष्कर्ष निकालेका छन्। भलै, अन्तिम टुंगो लागिसकेको छैन र आजदेखि सुरु हुने सचिवालय बैठक जे जस्तो चर्चा परिचर्चाबाट सुरु भएतापनी पार्टीको स्थायी समिति र केन्द्रीय कमिटीको बैठक सम्ममा दुई पक्ष बीच सहमतिमा पुगिसक्नेमा ढुक्कै छन्।

सौताको रीसले पोई काखमा मुत्न्ने काम कम्तीमा पनि यो पटक ओली बाट भएन भने ओली र प्रचण्ड बीच एकता हुने कुनै संभावना देखिदैन। त्यसैले पनि नेकपा भित्रको अन्तर पार्टी कलह र नेताहरु बीचको रस्साकस्सीमा माधब नेपालको भागमा खिरै खिर र अर्का नेता प्रचण्डको भागमा भने खोलाको तिरै तिर पर्ने संभावना ट्ड्कारो देखिन्छ।

मदन बस्नेत, भक्तपुर सूर्यबिनायक (हालः टाेराेन्टाे, क्यानडा)