माधव नेपाल पनि एमालेकै पक्षमा : एमाले मैले बनाएँ, किन छाड्नु ?

नेपाल समाचार

काठमाण्डौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाबारे पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन्।
आइतबार बसेको पुन:स्थापित संसद बैठक बहिस्कार गरेपछि नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेकपा एमाले आफूहरुले नै बनाएकाले पार्टीमा छलफल गरेर आगामी कदम चाल्ने उनले बताए। ‘मैले बनाएको एमाले छोड्ने कुरै आउँदैन’, उनले भने, ‘केपी ओलीलाई अध्यक्ष पनि दिँदैनौँ।’

एमाले बनाएर आफूहरुले नै चलाएको जिकिर पनि नेपालले गरेका छन्। ‘नेकपा एमाले बनाउने हामी हौँ, चलाउने पनि हामी नै हौँ,’ उनले भने, ‘त्यस पार्टीको अध्यक्षको जिम्मेवारी लिएको पनि मैले हो, त्यसैले केपी ओलीले खोसेर खोसिँदैन। मैले बनाएको एमाले म कहाँ छाड्छु?’

अध्यक्ष नेपालले सरकारको आयु सकिएको पनि बताएका छन् । उनले पूर्व माओवादीले समर्थन फिर्ता लिएमा पनि सरकार बच्ने आधार सकिने बताए।
‘संविधानको धारा ७६ (१) अनुसार सरकार नै रहेन’, उनले भने, ‘अब केपी ओलीले प्रधानमन्त्रीमा बसिरहने कुनै आधार बाँकी छैन।’