यी ९ सांसद, जसले संसद भवन प्रवेश गर्न पाउदैनन

नेपाल समाचार

काठमाडौं । संघीय संसदका ९ जना सांसदले संसद भवन प्रवेश गर्न नपाउने भएका छन् । उनीहरु कुनै फौजीदारी अभियोगमा दोषी करार भएर प्रवेश नपाउने भएका भने होइनन ।

सरकारले कोरोना परिक्षण अनिवार्य बनाएका कारण कोरोना परिक्षण अहिलेसम्म नगराएका ९ सांसद संघीय संसद भवन प्रवेश गर्न नपाउने भएका हुन् ।

त्यस्ता सांसदहरुमा प्रतिनिधीसभाका ७ र राष्ट्रिय सभाका २ जना छन् । प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी छन् । त्यस्तै, राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवान पनि बैठकमा सहभागी हुन पाउने छैनन् ।

उनीहरुले संसदको संयुक्त अधिवेशनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सहभागीता जनाउन पाउदैनन् । सरकारले संघीय संसदका सांसदहरुलाई अनिवार्य पिसिआर प्रविधिवाट कोरोना परिक्षण गराएको र परिक्षण नेगेटिभ देखिएकालाई मात्र प्रवेश गर्न दिने नीति बनाएका कारण उनीहरुले संसद प्रवेश गर्न नपाउने भएका हुन् ।

प्रतिनिधिसभामै विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार भने विभिन्न फौजदारी र भ्रष्टाचारको आरोपमा निलम्बनमा छन् । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ ।