यदी तपाईं मिक्सड मार्सल आर्टस् (एमएमए) फाइटरसँग जोरी खोज्दै हुनुहुन्छ भने त्योभन्दा अघि दुई पटक सोच्नुहोला ।
रियो दि जेनेरियोमा एक व्यक्तिले युएफसी खेलाडी पोल्याना भियानासँग जोरी खोज्दा नमिठो पाठ सिकेका छन् ।
गत शनिबार ब्राजिलियन सहरमा आफ्नो घर अगाडि उबर पर्खिरहेको बेला ती व्यक्तिले पोल्यानालाई लुट्ने प्रयास गरेका थिए ।
‘शुरुमा ती व्यक्तिले मलाई कति बज्यो भनेर सोधे । मैले समय भनेँ । तर, ती व्यक्ति त्यहाँबाट हटेनन्,’ एमएमएजंकीसँग कुराकानी गर्दै २६ वर्षीया पोल्यानाले भनिन् ।
‘त्यसपछि उनले ‘मलाई तिम्रो फोन देऊ, हल्ला नगर, मसँग हतियार छ’ भनेर बन्दुक देखाए । तर, बन्दुक शंकास्पदरुपमा हलुका भएको जस्तो मलाई लाग्यो,’ उनले भनिन् ।
बन्दुक नक्कली भएको थाहा पाएपछि पोल्याना ती व्यक्तिमाथि जाई लागिन् ।
‘मैले दुई पञ्च र एक लात हाने । उनी लडेपछि मैले घाँटी न्याँके र लक लगाए । त्यसपछि म उठे र पहिले कै ठाउँमा बसे,’ घटनाको बयान गर्दै उनले जानकारी दिइन् ।