रअ प्रमुखले मधेसवादी नेतालाई दिएनन् भेट

नेपाल समाचार

काठमाडौं । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल र उनकाे साथमा आएका रअका निर्देशक अरूण जैनसहितकाे टाेली स्वदेश फर्किएकाे छ ।

२०७७ कात्तिक ५ गते बुधबार ९ सदस्यीय टोलीको नेतृत्व गरेर सुटुक्क नेपाल आएका गोयल कात्तिक ६ गते बिहीबार स्वदेश फर्किएका हुन् । रअ भारतको प्रधानमन्त्री अन्तर्गतको विशेष गुप्तचर निकाय हो ।

बिहीबार बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थल पुगेका उनी ९ः४५ बजे स्वदेश फर्किएको स्रोतले जनाएको छ ।
गोयल भारतीय सेनाका जनरल थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण तयारीका लागि नेपाल आएको बताइन्छ । नरवाणे २०७७ कात्तिक १८ गते नेपाली सेनाको निमन्त्रणमा नेपाल आउँदैछन् । तर उनले नेपाली सेनाका जिम्मेवार कसैलाई पनि नभेटेको बताइएको छ ।

“भारतीय सेनाध्यक्ष नरवाणेको आसन्न भ्रमणको तयारीका लागि गोयल नेपाल आएको बताइए पनि उनी नेपाली सेनाका कुनै पनि अधिकारीसँग भेटवार्ता नगरी स्वदेश फर्किएका छन्,” स्रोतले भन्यो ।

भ्रमणका क्रममा गोयलले प्रधानमन्त्री तथा रक्षा मन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । स्रोतका अनुसार, गोयलले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीका रुपमा नभएर रक्षा मन्त्रीको हैसियतमा भेटेका हुन् । मन्त्रिपरिषदको पछिल्लो हेरफेरमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी ईश्वर पोखरेलबाट लिएर आफैंसँग राखेका छन् ।

गोयलसँगको भेटमा भारतीय सेनाध्यक्ष नरवाणेको आसन्न भ्रमणबारे कुराकानी भएको बताइएको छ ।

गोयलले नेकपाकै अर्का अध्यक्ष प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटेका छन् । यही क्रममा परराष्टमन्त्री प्रदीपकमार ज्ञवालीसँग पनि गोयलले संवाद गरेको बताइएको छ ।

कूटनीतिक भेटवार्तालाई मर्यादित बनाउन कूटनीतिक आचारसंहिता जारी गरिएको छ । तर गोयलसँगको भेटवार्तामा त्यसको पालनामा दल र तिनका नेता उदासीन रहँदै आएका छन् । यसपटक गोयलसँगको भेटमा प्रधानमन्त्री र रक्षामन्त्रीले परराष्टका कर्मचारी राखे पनि पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, शेरबहादर देउवा, बाबुराम भट्टराई र माधवकुमार नेपालले कूटनीतिक आचारसंहिताविपरीत भेटेको आरोप लागेको छ । त्यस्तै, प्रोटोकल ख्याल नगरी अनावश्यक रुपमा गोयलसँग भेटेको आरोप पनि उनीहरुलाई छ । भेटवार्तालाई लिएर चौतर्फी आलोचना बढेपछि प्रचण्डले भने यसको खण्डन गरेका छन् । उनले गोयलसँग आफूले कुराकानी नै नगरेको दाबी गरेका छन् ।

मधेसवादीलाई दिएनन् भेट

भारतीय पक्षको तर्फबाट हुने साना ठूला भेटमा मधेसवादी दल संलग्न हुने गरेका छन् । अक्सर भेटमा उनीहरु छुट्दैनन् । तर यसपटक भने मधेसवादी दलका नेताहरु छुटेका छन् । बाबुराम भट्टराईलाई पूर्वप्रधानन्त्रीको हैसियतमा गोयलले भेटे पनि मधेसवादी दलका अन्य कुनै पनि नेतासँग संवाद नगरेको स्रोतले जनाएको छ ।

सीमा विवादले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर नरहेका बेला रअ प्रमुखबाट भएको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । लिम्पियाधुरा समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसयता अहिलेसम्म दुई पक्षबीच उल्लेखनीय संवाद हुन सकेको छैन ।

कूटनीतिज्ञहरु दुई देशबीचको सम्बन्ध तिक्त रहेका बेला रअ प्रमुखले सम्बन्ध सुधारका लागि भेटवार्ता गरेको हुनसक्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । तर कूटनीतिक मर्यादा नाघेर गोयलले भेटवार्ता गरेको भन्दै आलोचना पनि उत्तिकै भइरहेको छ ।

रअ प्रमुखले के के विषय उठाए ?

भीआइपी र भीभीआइपीहरूकाे भेटमा रअ प्रमुख गाेयल टाेलीले नेपाल चीनतिर ढल्किएकाे भन्ने भारतीयहरूकाे साेच र टिप्पणीका बारेमा गंभीर ढंगले कुरा राखेकाे स्राेत बताउछ । भारतीय पक्षले भारतले सीमा मिचेकाे नेपालकाे ठहर, लेपुलेककाे नक्सा जारीका सम्बन्धमा उठेका विषयहरू पनि उठाएकाे स्राेत बताउछ । साथै भारतीय जनरलकाे नेपाल भ्रमणकाे समयमा जनस्तरबाट हुन सक्ने सम्भावित विराेध र सुरक्षा सवालका विषयहरू पनि राखेकाे स्राेत बताउछ ।