राजतन्त्र र गणतन्त्रमा के फरक भयो त ?

नेपाल समाचार मनाेरंजन

कोरोनाको सन्त्रासबाट गुज्रिरहेको बेला नेपालमा भइरहेको राजनीतिक खिचातानीले कलाकारहरु दुःखी छन् ।

कोरोनाविरुद्ध सबै एकजुट हुनुपर्ने बेला नेताहरु आन्तरिक खिचातानीमा व्यस्त हुनु देशकै लागि खतरा भएको उनीहरुको भनाइ छ ।

उनीहरुले वर्तमान राजनीति जघन्य अपराधदेखि भ्रष्टाचारमा लिप्त रहेकाले राजतन्त्र र गणतन्त्रमा के नै फरक छ ? भनेर प्रश्न गर्न थालेका छन् ।

वरिष्ठ कलाकार किरण मानन्धर यतिबेला शान्तरुपमा आफ्नो आर्ट स्टुडियोमा कोरोना शीर्षकमा कला सिर्जना गरिरहेका छन् ।

‘याक्र्कलिक’ माध्यमबाट ‘लकडाउन’को समयमा आठथान चित्रकला सिर्जना गरिसकेका छन् ।

उनले अहिले बनाएको चित्रकलामा प्रकृतिसँग जित्न सकिँदैन र मानवीय अहंका कारण कोरोना फैलिएको चित्रण गरेका छन् ।

‘क्वारेन्टाइन’मा बस्ने नेपाल मण्डलको संस्कार नै भएको भन्दै पुर्खाले दिएको ज्ञानलाई युवापुस्ताले बिर्सिएको मानन्धर बताउँछन् ।

नेपालको वैज्ञानिक परम्परा, कला–संस्कृतिकालाई आत्मसात् गर्नुपर्ने उनको सुझाव छ ।

कला सिर्जनामा व्यस्त रहेपनि मानन्धरको मनमा देशको राजनीतिक घटनाक्रमले छोडेको छैन । यस्तो अवस्थामा पनि राजनीतिक खिचातानी हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

कोरोना सन्त्रासलाई अवसरको रुपमा लिन सक्नुपर्ने भन्दै नेताहरुमा अहिले पनि चेतना नआए देश भड्खालोमा जाने निश्चत भएको उनको दाबी छ ।

मानन्धर प्रश्न गर्छन्–‘राजाको राजतन्त्र र नेताहरुको गणतन्त्रमा के फरक भयो त ?’

ज्ञानभूमि देवभूमि नेपालको आफ्नै मौलिक परम्परा छ । दलहरुको पनि आफ्नै राजनीतिक संस्कार छ ।

राजनीतिक चरित्र संस्कारयुक्त बनाउने र वैज्ञानिक मौलिक परम्परालाई निरन्तरता दिन सकेमात्र प्रकृतिमैत्री विकास सम्भव छ ।

हिजोको दिनभन्दा आज फरक हुँदैन भने हजारौंको बलिदानीको के नै अर्थ रह्यो र ?