राष्ट्रपतिद्वारा सरकारी नियमकोअवज्ञा: जनता भोकै तर शितल निवास भोज भतेरमा !

नेपाल समाचार

एमखबर डेस्क, क्यानाडा। २४ जुन २०२०।

कोरोनाको संक्रमण समुदाय स्तरमा नफैलियोस् भनेर सरकारले लागू गरेको पन्ध्र जना भन्दा बढी भेला हुन नपाईने नियमको धज्जी उडाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा रात्रीभोजको आयोजना गरेको घटनाले “सानालाई एेन, ठुलालाई चैन” भन्ने लोकउक्तिलाई चरितार्थ गरेको छ।

जब जब पार्टी भित्र समस्या खडा हुन्छ र बिबाद बल्झिन्छ, तब तब निकै सकृय हुने शितल निवास अहिले फेरी सकृय हुन थालेको र एमसिसी प्रकरणले पार्टी र सिङ्गै मुलुक पक्ष र विपक्षमा ध्रुविकृत भईरहेको बेला रात्री भोजको आयोजना गरेर सर्बपक्षिय भेलाको माहोल तयार गरेको प्रष्टै देखिन्छ।

मदन जयन्तीको नाममा आयोजित उक्त रात्रीभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द्र, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका प्रभावशाली नेताहरुलाई निम्तो गरिएको बुझिएको छ ।

सर्बसाधरण जनतालाई बिहान बेलुकीको छाक टार्नै धौ धौ भईरहेको बेला राष्ट्रपतिद्वारा आयोजित शितल निवासको त्यो रात्री भोजले थप बिबाद निम्त्याउने प्रष्ट छ । कार्पेट प्रकरण सेलाउन नपुग्दै आयोजना भएको शितल निवासको त्यो रात्री भोजले जनस्तरबाट थप बिरोध र आक्रोशको सामना गर्नु पर्ने देखिन्छ।