राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । 

राष्ट्र सङ्घको प्रधान कार्यालयमा गत फागुन २७ देखि यही चैत ८ गतेसम्म आयोजना भइरहेको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले फागुन २८ गते ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको थियो । 

राष्ट्रसङ्घ महासभाका सभाध्यक्ष मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गर्नुभएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ गत फागुन २६ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शङ्करदास वैरागीले अधिवेशनका क्रममा आयोजना गरिएका तीन उच्चस्तरीय समूह छलफलमध्ये राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छन्’ भन्ने विषयमा सहभागी भई आफ्नो विचार राख्नुभएको जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी स्वदेश फर्कनु हुँदा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गर्नुभएको थियो । 

सो अवसरमा मन्त्रीहरु सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको पनि उपस्थिति थियो ।