राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्यमा भारत निर्विरोध निर्वाचित

विश्व समाचार

एमखबर डेस्क, क्यानाडा। १७ जुन २०२०।

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो ।

नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ ।

धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’ को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन ट्रुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए ।

एसिया प्रशान्त क्षेत्रका लागि भारत भने निर्विरोध निर्वाचित भएको हो । भारतले १८४ मत प्राप्त गऱ्यो । त्यस्तै मेक्सिकोले १८७ मत प्राप्त गऱ्यो । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गऱ्यो । अफ्रिका क्षेत्रका लागि बिहीबार फेरि दोस्रो चरणका लागि मतदान हुनेछ ।