रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्तेष्टि पछि कोरोना पुष्टि

नेपाल समाचार

काठमाडौं, जेठ २४
कैलालीमा कोरोनाका कारण मृत महिलाको परीक्षण रिपोर्ट आउनुपूर्व नै आफन्तलाई शव बुझाइएको र उनको अन्तेष्टि भई सकेपछि संक्रमण पुष्टि भएको खुलेको छ।

सेती अञ्चल अस्पतालमा डायलेसिस गराउने एक महिलाको शुक्रबार निधन भएको थियो।

डायलेसिसकै क्रममा निधन भएकी महिलाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो। स्वावको रिपोर्ट शनिबार दिउँसो आउँदा उनमा कोरोना संक्रमण पाइएको हो।

तर शव भने शुक्रबार नै आफन्तलाई बुझाएको र शनिबार स्थानीय मोहना घाटमा अन्तिम संस्कार भैसकेको धनगढी उपमहानगरपालिका वडानम्बर ४ का अध्यक्ष दीपक थापा क्षेत्रीले बताए।