लकडाउनमा पत्रकारको कार्ड बोकेर चोरी गर्ने दुईजना पक्राउ

विविध

काठमाडौं । प्रेस कार्ड बोकेर चोरी गर्दै आएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं धुम्बाराही बस्दै आएका २१ वर्षीय आश्रय रिजाल भन्ने हिमाल रसाइली र काठमाडौं ओमबहाल बस्दै आएका २८ वर्षीय अलि आलम मिया छन् । उनीहरुलाई चावहिल भत्केको पुलबाट महानगरीय अप-राध महाशाखा र वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले सिनामंगलस्थित एक ब्बाइज होस्टेलबाट ४ थान ल्यापटप चोरेका थिए । यस्तै गत चैत २४ गते भत्केको पुलस्थित डाक्टर सुबिन मानन्धरको घरबाट ल्यापटप,आइप्याड चोरी गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजबाट उनीहरुलाई पत्ता लगाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार अनुन्धानका क्रममा एभेन्जर मोटरसाइकल रोकेर सोधपुछ गर्दा उनीहरुले प्रेस कार्ड देखाएका थिए ।

शंका लागेर उनीहरुको झोला चेक गर्ने क्रममा ल्यापटप, मोबाइल, क्यामेरा, ५३ हजार नेपाली रुपैयाँ, ३ सय अमेरिकन डलर, चाइनिय युयान २ सय बरामद भएको छ । उनीहरुका साथबाट प्रेस कार्ड समेत बरामद गरिएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए ।