लण्डनमा पार्कमा हिडडुल गर्न जाँदा हराएकी धनमाया मृत भेटिइन्

NRNA प्रवास विश्व समाचार

लन्डनको प्लमस्टिड स्थित घर बाट पार्कमा हिड्न भन्दै आइतबार दिउँसो निस्किएकी एक महिला मृत भेटिएकी छिन्।

साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी ६५ वर्षीया धनमाया थापा घर नजिकैको पार्कमा मृत भेटिएकी हुन्।

शुरुमा स्थानीय प्रहरीले खोजी गर्दा धनमायालाई भेट्न नसकेपछि सोमबार साँझ मेट्रोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ आएर खोजी थालेको थियो ।

धनमाया श्रीमान र छोरा, बुहारीसंगै पछिल्लो ९ वर्षदेखि प्लमस्टिडमा बस्दै आएकी थिइन् । उनका श्रीमान रेवतबहादुर थापा जिगेसाका उपाध्यक्ष हुन् ।

आइतबार दिउँसो १५ /२० मिनेटमै फर्किन्छु भनेर हिड्न गएकी धनमाया एक-डेढ घण्टासम्म पनि घर नफर्किएपछि परिवारले सोधीखोजी शुरु गरेको थियो । परिवारका सदस्य र आफन्तहरु मिलेर पार्क आसपासमा घण्टौंसम्म खोजी गरेका थिए भने प्रहरीलाई पनि खबर गरिएको थियो ।

उनको मृत्युको यकिन कारण भने खुलेको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

धनमायालाई यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको र मानसिक अवस्था सामान्य रहेको परिवारले बताएको छ ।