वामदेवले भने-ओली जस्तो व्यक्तिवादी नेता संसारमै कोही छैन !

राजनीति

काठमाण्डौ । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली केपी ओलीजस्तो व्यक्तिवादी नेता संसारमै कोही नभएको टिप्पणी गरेका छन् ।

गौतमले ओलीको चरम व्यक्तिवादी सोच र शैलीका कारण नेकपा कमजोर भएको टिप्पणी गरे । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा बुधबार गौतमले आफूले पटकपटक ओलीबाट धोका खाएको भन्दै अब उनको भ्रममा नपर्ने बताए । ओलीविरुद्धको मोर्चामा आफू प्रचण्ड–नेपालसँगै रहेको भन्दै शंका नगर्न गोतमले आग्रह गरे ।

गौतमले ओली नेतृत्वमा बस्दासम्म सरकार पनि राम्ररी नचल्ने र पार्टीको उँभो गति नहुने टिप्पणी गरे । ‘केपी ओलीबाट अब देश र पार्टी चल्दैन’, गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यस्तो व्यक्तिवादी नेता संसारमा उहाँबाहेक कोही छैन ।’

यसअघि आफूले पार्टी एकता बचाउन ओलीको भनाइ मानेर सहयोग गरेको भए पनि यसपटक यो संकटबाट ओलीलाई बचाउन नलाग्ने गौतमको भनाइ थियो ।