विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित

नेपाल समाचार

काठमाडौँ । प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । 

यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले स्वीकृति प्रदान गरेको थियो ।

विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, भरतकुमार शाह र गगनकुमार थापाले पर्याप्त छलफल गरेर अघि बढाउनुपर्ने भए पनि आवश्यक छलफल गर्न दिने पाटोमा सरकार र सदन चुकेको धारणा राख्नुभयो । 

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयक पारित गर्ने कार्यमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । 

सो विधेयकको प्रस्तावनासहित २७ बुँदामा ३२ संशोधन परेको थियो । 

विधेयक पारित भएसँगै आगामी लगानी सम्मेलनमा सरकारका तर्फबाट तयार गर्नुपर्ने आवश्यक कानूनी व्यवस्था बनेकाे रेडियाे नेपालले जनाएकाे छ ।