विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

नेपाल समाचार

बुटवल । नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् ।

उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी राजनीतिक कार्यक्रममा सहभागी गराइनु बाल अधिकारको हनन् मानिन्छ ।

कलिला बालबालिकालाई राजनीतिक कार्यक्रममा झण्डा प्रयोग गराउँदा भविष्यमा नराम्रो असर पुर्याउने बताउँछन् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बैकुण्ठ पाण्डे । ‘पहिलो कुरा विद्यालय प्राङ्गणमा यस्ता आमसभा गर्नु नै गलत हो, दोस्रो कलिला बालबालिकाको प्रयोग त अपराध नै मानिन्छ,’ प्राध्यापक पाण्डेले भने, ‘कलिलो उमेरमा पार्टीका झण्डा बोकाउँदा र प्रयोग गराउँदा बाल मस्तिष्कमा गहिरो छाप पर्छ र भविष्यमा नकारात्मक असर पर्छ ।’

माघ २३ गते काठमाडौंमा सम्पन्न ओली समूहको आमसभामा अपेक्षाकृत जनसहभागिता नभएपछि ओली समूहले तुलनात्मकरुपमा बलियो पकड भएको मानिने बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो । सो समूहका नेताहरुले बुटवलको आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने दावी गर्दै आएका छन् ।