विमानस्थलको दुई अर्ब बक्यौता रकम उठाउन ध्यानाकर्षण

नेपाल समाचार

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु. दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । 
आज सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने बक्यौता समयमा नउठाएको र समितिलाई गोलमोटोल जवाफ दिने गरेको भन्दै बक्यौता रकम उठाउन ध्यानाकर्षण गरेको हो । 
बैठकमा विमानस्थलले भाडामा लगाएका सटर तीन वर्षका लागि सम्झौता भए पनि १२ वर्षसम्म नवीकरण नभएको, सञ्चालित पसलले यात्रुलाई चर्को मूल्य तिर्न बाध्य बनाएको र विमानस्थलको ट्याक्सी सेवाले यात्रुलाई सास्ती दिएको सम्बन्धमा विमानस्थलका पदाधिकारीसँग सांसदहरुले जवाफ माग्नुभएको थियो । 
साँसदहरुका प्रश्नको जवाफमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री लगायत पदाधिकारीले बक्यौता बाँकी रहेका अधिकाङ्श एयरलाइन्सले किस्ताबन्दीमा समयावधि तोकेर रकम बुझाइरहेको र विभिन्न प्रयोगका लागि भाडामा लिएका कम्पनीको केही मुद्दा मामिलाका कारण रकम उठाउन ढिलो भएको जानकारी दिनुभएको थियो । 
निमित्त महानिर्देशक पोखरेलका अनुसार, यही २०७५ पुस मसान्तसम्म एयरलाइन्स र विभिन्न कम्पनीबाट विमानस्थललाई रु एक अर्ब ९९ करोड ६८ लाख तिर्न बाँकी रहेको देखिन्छ । फागुन महीनासम्म सौर्य, हिमालय र सिम्रिकले एक÷एक करोड रुपैयाँको हाराहारीमा बक्यौता बुझाएका छन् । 
उहाँले जहाज ग्राउण्डेड गरेर बक्यौता उठान कठिन हुने भएकाले किस्ताबन्दी वा समयावधिको सम्झौता अनुरुप सेवा सञ्चालन गर्न दिइएको स्पष्ट गर्नुभयो । 
बैठकमा सांसदहरु विरोध खतिवडा, हृदयश त्रिपाठी, मीनेन्द्र रिजाल, सूर्य पाठक, राजेन्द्रकुमार केसी, प्रेम आले लगायतले सम्बन्धित पदाधिकारीहरुले झारा टार्नेगरी गोलमोटोल गरेर ‘रेडिमेट’ जवाफ दिने गरेको भन्दै अर्को बैठकमा बक्यौता उठाउने कार्ययोजना सहित पूर्ण तयारीका साथ आउन आग्रह गर्नुभयो । 
बैठकले विमानस्थलको बक्यौता उठाउने बारेमा सम्बद्ध पदाधिकारीहरुसँग थप छलफलपछि अर्को बैठक बसेर निर्णय गर्ने समितिले जनाएको छ । 
रासस

Read more at: http://radionepal.gov.np/news-details/25331/2019-03-17
Follow us: @radionepal on Twitter | @radionepal on Facebook