विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, नेपालले किनेको दश लाख डोज खोप काठमाडौं आइपुग्यो ।

Breaking नेपाल समाचार विश्व समाचार स्वास्थ्य

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् ।
विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जी–७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७।५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।
विश्वव्यापी जनसंख्याको आधा भाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्च आम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ,मा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ ।
विश्वका निम्न आम्दानी भएका २९ मुलुकमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ । देशको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्यालाई कोभिड–१९ विरूद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हरेक तीन इजरायलीमध्ये एक जनाले शनिबारसम्ममा दुबै खोप लिइसकेका छन् ।
देशको कूल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई खोप उपलब्ध गराउने मुलुकहरूमा, बेलायत ९२५० प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत, रहेका छन् । खोपको मात्रा प्रयोगका हिसाबले अमेरिकामा सबैभन्दा बढी पाँच करोड ९० लाख ६० हजार अर्थात् धेरै मात्रा खोप लगाइएको छ । त्यसैगरी फेब्रुअरी ९ सम्ममा चीनमा चार करोड ५० हजार खोप लगाइसकिएको थियो भने भारतमा एक करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रा खोपको मात्रा लगाइसकिएको छ ।

यसैगरि नेपाल सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये आईतबार १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।
एयर इन्डियाको विमानमार्फत कोभिशिल्ड खोप दिउँसो नेपाल आइपुगेको हो । यो खोप प्राथमिकताको आधारमा लगाईनेछ । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासंग फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरे अनुसार १० लाख डोज आइपुगेको हो ।
सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो । सरकारले खरिद गरेको खोप अन्य देशभन्दा सबैभन्दा सस्तो भएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयश त्रिपाठीले नेपालले खरिद गरेको खोप अन्य देशको तुलनामा धेरै सस्तो रहेको बताउनुभएको छ । उहाँले अन्र्तराष्ट्रिय बिमानस्थलसम्मको मुल्य चार डलर रहेको भन्दै अन्य देशले पनि यो भन्दा महङ्गो मुख्यमा खरिद गरेको बताउनुभयो । मन्त्री त्रिपाठीले सरकारले आगागी मार्चसम्म सबै लक्षित समूहलाई सन् २०२१ को जुनसम्म खोप दिइसक्ने लक्ष्य रहेको बताउनुभएको छ । सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखा प्रुमख डा. झलक गौतमले कोभिशिल्ड खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिने जानकारी दिनुभयो । टेकुबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा लगिने र उक्त केन्द्रबाट जिल्ला स्वास्थ्य कार्यालय हुँदै देशभरका खोप केन्द्रमा पु¥याईने जानकारी पनि दिनुभयो ।
डा. गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख कोभिशिल्ड खोप केहिदिनभित्रै ल्याउन लागेको जानकारी दिनुभयो । खोप शाखा प्रमुख गौतमले हालसम्म प्राथमिकताका आधारमा तीनलाख नेपालीले खोप लगाईसकेको जानकारी दिदै पहिलो चरणको प्राथमिकताका आधारमा अहिले बैङ्कका कर्मचारी,स्थानीय तहका कर्मचारी,जनप्रतिनीधि,जिल्लास्थित कर्मचारीहरुलाई लगाउने कार्य भइरहेको जानकारी दिनभयो । उहाँले यो अभियान फागुन ११ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्राथमिकताका आधारमा खोप लगाईने जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको खोप फागुन २३ गतेदेखि लगाउन सुरु गर्ने बताउनुभयो । सहप्रवक्ता अधिकारीका अनुसार दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका उमेर समूहलाई लगाइनेछ । नेपालमा ६० वर्ष नाघेको संख्या २६ लाख ५२ हजार रहेको छ । यस्तै ५५ वर्षदेखि ६० वर्ष उमेर समूहको जनसंख्या १० लाख रहेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ५५ वर्षमाथिका बाहेक शिक्षक,विद्यालयमा कार्यरत कर्मचारी,सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, ट्रायल सेन्टरमा कार्यरत कर्मचारीहरुलाई खोप लगाईने जानकारी दिनुभयो ।
आईतबार आएको खोप सरकारले अग्रिम भुक्तानी गरेर ल्याएको हो । नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी लगायतलाई खोप लगाउने छ । नेपालमा माघ ८ गते पहिलो पटक कोरोना विरुद्धको खोप ल्याएको थियो । भारत सरकारको अनुदानमा कोभिशिल्ड खोप १० लाख डोज ल्याइएको थियो । उक्त खोप स्वास्थ्यकर्मी,सरसफाईकर्मी,पत्रकारहरुले लगाइसकेका छन् । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीलाई खोप लगाइएको छ । हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन् । नेपालमा कोरोना भाइरस देखिएको एक वर्षमा कोभिशिल्ड खोप ल्याउन सफल भएको हो ।