विषय अभिव्यक्तिको, मुद्दा विद्युतीय कारोबारको

नेपाल समाचार

डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ ।

‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हास्यकलाकार प्रनिश गौतमलाई सात दिनदेखि थुनामा राखेर विद्युतीय कारोबार ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रहरीको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएको छ ।

‘मेम नेपाल’ नामक युट्युब च्यानलमा सो फिल्मबारे गौतमले व्यंग्यात्मक भिडियो समीक्षा गरेका थिए । सो समीक्षाले आफूहरूको मानमर्दन भएको भन्दै निर्देशक मिलन चाम्लिङ राईले प्रहरीमा जाहेरी दिए ।

विस्तृत अनुसन्धान नै नगरी प्रहरीले गौतमलाई पक्राउ गरी मुद्दा चलाएको हो । जब कि उजुरी परेलगत्तै मेम नेपालले सो भिडियो हटाएको थियो । फिल्मबारे नकारात्मक समीक्षा गरेकै आधारमा पक्राउ गर्नुले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै हनन भएको अधिकारकर्मीले बताएका छन् ।

फ्रिडम फोरम, चलचित्र समीक्षक समाजलगायतले समेत गौतमको पक्राउप्रति आपत्ति जनाएका छन् । पक्राउको विरोधमा बुधबार राजधानीमा प्रदर्शन नै भएको थियो । सामाजिक सञ्जालमार्फत समेत उनलाई छुटाउन दबाब अभियान सुरु गरिएको छ ।