व्यंग्य : त्यसरी राजीनामा दिनै हुन्नथ्यो !

मनाेरंजन

शेयर गर्नु होस ।

शैलेश भट्टराई

यो देशमा कहिले नेदरल्यान्डका प्रधानमन्त्रीले साइकल चढेर अफिस गए रे भनेर हङ्गामा हुन्छ त कहिले मेक्सिकोका राष्ट्रपतिले विलासी सुविधा बहिस्कार गर्दै सरकारले उनलाई दिएको जहाजै बेचेर सो रकम सरकारी ढुकुटीमा जम्मा गरे रे भनेर खैलाबैला हुन्छ । कहिले पाकिस्तानी प्रधानमन्त्रीले सरकारी निवास त्यागेर आफ्नै घरमा बसे अनि महङ्गा बुलेट प्रुफ गाडी बेचेर राज्यकोषमा रकम जम्मा गरे रे भनेर होहल्ला हुन्छ त कहिले उरूग्वेका राष्ट्रपति एकदम सामान्य गाडीमा सफर गर्छन् र सामान्य घरमा बस्छन् रे भनेर मिडिया तताइन्छ ।

कहिले क्रोएसियाकी राष्ट्रपतिले आफ्नो घरको काम आफैं गर्छिन् भनेर लेख्या छ । कहिले क्यानडाका प्रधानमन्त्रीले साइरन नबजाई, सडक ठप्प नपारी, यात्रुलाई दुःख नदिई, सामान्य किसिमले आफ्नो सवारी व्यवस्थित गरे भनेर खोक्या छ !

विश्वका बाँकी थुप्रै देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पनि छन् जसले केही न केही काम पक्कै गरिरहेकै हुन्छन्, तिनको चर्चा गरे हुन्न ? खाली यस्तै उट्पट्याङ हर्कत गर्नेकै वाहवाही गर्दै समय बिताउनुपर्छ ? यहाँका मान्छेको अरू काम छैन ?

नेपालमा अहिले फेरि त्यस्तै हङ्गामा शुरू भएको छ । हङ्गामा चाहिँ केको रहेछ भनेको त मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेजले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि राजीनामा दिनुभएछ । आफैंले आफैंलाई दोषी ठहर्‍याउनुभएछ वहाँले । गज्जबको न्याय प्रणाली रै’छ बाबै त्यहाँ !

दोषी प्रमाणित हुनलाई अदालत पनि नचाहिने, मुद्दा पनि चल्नु नपर्ने रै’छ । वहाँले आफ्नो राजीनामा पत्रमा भन्नु भयो रे – ‘मेरा कारण अन्य नियमित उडानहरु ३८ मिनेट ढिलो भयो ।’

एउटा लोकतान्त्रिक मुलुकको एउटा लोकतान्त्रिक मन्त्री भनेको लोकतन्त्रको पर्याय हो । लोकतन्त्रको एउटा केन्ऽ हो । मेक्सिकोमा लोकतन्त्र छैन कि क्या हो ? अनि लोकतन्त्रका लागि जाबो केही उडानहरू केवल ३८ मिनेट ढिला हुँदा त्यस्तो आकाशै खस्ने, धरती नै भासिने कुरा त थिएन नि । एकाध सानातिना भुइँमान्छेहरूलाई आकाशमा विचरण गर्न एकछिन ढिला हुँदैमा राजीनामा नै दिनुपर्ने त केही देखिँदैन ।

मन्त्री त झन् यसमा खुशी पो हुनुपर्ने । ‘म कति शक्तिशाली रहेछु्र आकाशमा उड्ने जहाजलाई समेत रोक्न सक्ने हैसियत भएछ मेरो’ भनेर दङ्ग पर्नुपर्ने हो । वहाँले्र अझ धरतीमार्ग प्रयोग गर्ने मनुवाहरूलाई पनि त्यस्तो हैसियत देखाउनु पर्नेमा वहाँले विल्कुल पश्चगामी यात्रा तय गर्नु भो भन्नुमा संकोच मान्नुपर्दैन । राजनीतिको यस्तो उल्टो यात्राले उल्टै नतीजा दिन्छ्र । भोलिपल्टदेखि वहाँलाई जनताले नै गन्न छाड्नेछन् । अभिवादन पनि भन्न छाड्नेछन् । वाह ! क्या सभ्य र महान मन्त्री भनेर सम्मानको त कुरो छाडौं, भोट हालेर जिताउनु त धेरै परको कुरो ।

त्यस्तो हुन्नथ्यो भने पञ्चायतकालमा दशरथ रंगशालाको विभत्स प्राकृतिक प्रकोपको जिम्मा लिँदै राजीनामा दिएर चर्चा कमाएका मन्त्री केशरबहादुर बिष्टले जीन्दगीभरि चुनाव जित्नुपर्ने होइन ? तर राजीनामा दिएर बाहिरिएपछि चुनाव जित्नु वहाँका लागि मृगतृष्णा भो ।

हुबहु यही उदाहरण र्कीतिनिधि बिष्टमा पनि लागू हुन्छ । सिंहदरबारमा न वहाँले आगो लाउनुभाको थियो, न कसैलाई ‘आगो लगाओ है केटा हो’ भन्नुभाको थियो । सिंहदरबारमा आगो लाग्यो । त्यसको जिम्मा लिँदै राजीनामा दिनुभो । त्यसपछि कैयौं चुनावमा उठिरहनु भो । तर, नमज्जाले हारिरहनु भो । बस् हारिरहनु भो ।

ती मेक्सिकन मन्त्रीले थप भन्नुभएछ ‘एकजनाको सुविधाका लागि जनतालाई समस्यामा पार्ने र दुःख दिने विशेषाधिकार कसैलाई छैन । म यो अक्षम्य गल्ती स्वीकार गर्छु र माफी माग्दै पदबाट राजीनामा दिन्छु !’

हे भगवान ! हजारौं लाखौँ जनताको भोटबाट निर्वाचित अनि करोडौं जनताको आशाको एउटा केन्द्र, अर्थात् मन्त्री कसरी ‘एकजना’ हुन्छ हँ ? राज्यलाई रोग, भोक, अशिक्षा, बेरोजगारी, गरीबीबाट मुक्त गराउन एक से एक मन्त्र जानेको मान्छेलाई त्यसरी एउटा व्यक्ति भनेर तुच्छाभाष गराउन खोज्नु सरासर गलत छ्र । मन्त्री भनेको पहिला संस्था हो, अनि मात्र व्यक्ति हो । संस्थाले गरेको गल्ती कहिल्यै पनि व्यक्तिगत हुँदैन र संस्थागत गल्तीको लागि व्यक्तिले माफी माग्ने, प्रायश्चित गर्ने, लज्जाबोध गर्ने कामै छैन । झन् राजीनामा दिने त कुरै छैन ।

आफ्नो सुबिधाका लागि यसरी सामान्यजनलाई असुबिधामा पार्नु त हक हो हक । पदसिद्ध हक अर्थात् त्यो लेभलको पदमा पुगेपछि स्वतः निस्सृत हुने हक । आफ्नो हकको प्रयोग गर्दा त्यस्ता भुइँमान्छेलाई जति स्तरीय असुविधा, दुःख, कष्ट, हैरानी,परेशानी दिनसक्यो उति आफू शक्तिशाली र भाग्यशाली भएकोमा धन्य हुनुपर्नेमा यस्तो के गर्नुभो वहाँले ? गलत संस्कारको शिकार हुनुभो वहाँ ।

जति धेरैबेर कुरायो, जति धेरैलाई कुरायो झन् शान पो बढ्छ्र । मान पो बढ्छ । अभिमान पो बढछ्र । मन्त्री हुनुको ओज बढ्छ । को रै’छ यसरी कुराउने भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय खोज बढ्छ । आफू शक्तिशाली, गौरवशाली र बैभवशाली छु भन्ने कुराको मानक पो हो त यो । तपाइँ हामी त्यसरी कुराउन सक्छौं ? सक्दैनौं । जहाजलाई उड्नबाट रोक्न सक्छौं ? सक्दैनौं । उडिरहेका जहाज जाँतो घुमाए झैं फनफनी घुमाउन सक्छौं ? अहँ सक्दैनौं । घन्टौं सडक ठप्प पार्न सक्छौं ? त्यो पनि सक्दैनौं । तपाईं हामी एउटा साइकलधरी ठप्प पार्न सक्दैनौं । त्यसैले तपाइँ हामीलाई कसैले गन्दैनन् । ठूलो मान्छे त झन् भन्दै भन्दैनन् । बल्लबल्ल यस्तो शान देखाउने बेलामा ती मन्त्रीले यस्तो हर्कत गरेर आफ्नो राजनीतिक जीवन शायद समाप्त पार्नुभो ।

वहाँका कारण ˆलाइट डिले हुँदा यात्रु र सञ्चार माध्यमबाट आलोचना भएको थियो रे । कस्तोखालको मन्त्री हुनुहुँदोरहेछ वहाँ ! जाबो त्यति आलोचना पनि पचाउन नसक्ने । आलोचना गरे भन्दैमा हदै त गर्नु हुन्न नि । पदै त त्याग्नु हुन्न नि । बल्ल बल्ल कति दुःख गरेर पाएको पद । जीवनमा एकपटक मन्त्री हुनु अनि एकाध सनकमानहरूले आलोचना गरे भन्दैमा राजीनामै दिनु कुनै अर्थमा पनि ठीक होइन ।

ए बाबा ! आलोचना कसको हुँदैन ? सबैको हुन्छ । भगवानको त आलोचना हुन्छ । काम, क्रोध, लोभ, मोह लगायत सारा कुरा त्यागेका ऋषिमुनि, तपस्वीहरूको त आलोचना हुन्छ । गौतम बुद्धकोसमेत आलोचना हुन्छ्र । अहिले पनि भैराखेकै छ ।

अरूले आलोचना गरे आफूले आत्मआलोचना गरेर पद जोगाएको भए पनि त हुन्थ्यो । आत्मआलोचना गर्दैमा गल्ती दोहोर्‍याउनु हुन्न भन्ने पनि त छैन । किनभने, राजनीतिमा जे पनि जायज हुन्छ् ।

यसरी आलोचना गरेकै भरमा सबैले राजीनामा दिँदै जाने हो भने, माफी माग्दै जाने हो भने, प्रायश्चित गर्दै जाने हो भने, लज्जाबोध गर्दै जाने हो भने त्यस्ता राजकीय पदहरूको के गरिमा रहन्छ ? ‘काग कराउँदै गर्छ पीना सुक्दै गर्छ’ भन्ने लोकोक्ति अनुसार चलेन भने त अराजकतै अराजकता निम्तिन्छ । हरेक अराजकता लोकतन्त्रको दुश्मन हुन्छ भन्ने कुरा ती मन्त्रीलाई थाहै थिएन कि क्या हो ?

कतिले भने- आहा कति सभ्य मन्त्री त्यहाँका !’

यस्तै अराजकता र विश्रृफ्लतालाई सभ्यता भन्ने भए भो चाहिएन हाम्लाई त्यस्तो सभ्यता । हामी धेरै सभ्य छौं । आफूभन्दा ठूला बडाले जे गरे नि सहन्छौं । बाटो भत्काए नि सहन्छौं । माटो चढाए नि सहन्छौं । जाम गरे नि सहन्छौं । काम गर्न नदिए नि सहन्छौँ । जल, थल, तेज, पवन, आकाश पन्चतत्व नै कब्जा गरे नि सहन्छौं । बन्द हड्ताल नि सहन्छौँ । चन्दा नि सहन्छौँ । फन्दा नि सहन्छौँ । हामीले एकछिन सहिदिँदा लोकतन्त्रको लम्बाइ बढ्छ भने किन नसहने ?

राजीनामा नदिएर के गर्नुपर्थ्यो त ? भन्ने सवाल पनि आयो । वहाँले के गर्नुपर्थ्यो भने-

‘मन्त्रीले कुराउनु भो, यस्तो गर्न पाइन्न’ भनेर होहल्ला र मिडियाबाजी गर्ने तत्वहरूलाई खोजी खोजी लोकतन्त्रका दुश्मन, सरकारका दुश्मन करार गर्दै कारवाही गर्नु पर्थ्यो । लाठो लाउनु पर्थ्यो । कानून नभए कानून बनाएर भए पनि तिनलाई तह लाउनुपर्थ्यो ।

मन्त्रीलाई यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुन्न भनेर सिकाउने ? मन्त्री जस्तो मान्छेलाई जाबो ३८ मिनेट कुर्दा के बिगि्रयो हँ तिनको ? डेटिङ जाँदा घन्टौं कुर्न हुने, सिनेमा हेर्न त्यस्तै, अनि दशकौं दशकको निरंकुशता कुर्न पनि हुने । अनि एकछिन लोकतान्त्रिक व्यवस्थाको मन्त्रीलाई कुर्नुपर्दा त्यो हदको रडाको मच्चाउने ? त्यस्ता बदमासहरूलाई ठिंगुरा लाउनुपर्थ्यो । बस् !