शिर्ष तीन नेता : सर्प, बिच्छी र भ्यागुता ! सचिवालय बैठक : हात्ती आयो, हात्ती आयो, फुस्सा !

बिचार राजनीति

मदन बस्नेत, ग्रेटर टाेराेन्टाे । ०३ मे, २०२० !

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट अविलम्ब राजिनामा दिनु पर्ने एक सुत्रीय माग राखी थालिएको सत्तारुढ दल नेकपाको पार्टी सचिवालयको आज आयोजित दोस्रो बैठक अन्ततः हात्ती आयो, हात्ती आयो, फुस्सा” भएको छ र प्रधानमन्त्रीको आत्मआलोचनामा टुङ्गिएको छ।

निकै चर्को स्वरमा प्रधानमन्त्रीको राजीनामाको माग गर्ने पार्टीका प्रभावशाली नेता बामदेब गौतम ,स्वयं प्रधानमन्त्री ओलीको “उधारो प्रधानमन्त्री” को मोहपासमा फसेपछी नेकपा भित्रको अन्तर कलह र नेताहरु बीचको सत्ता संघर्षरले नाटकीय रुपमा नयाँ मोड पक्डिएको छ।

सचिवालयको अघिल्लो बैठकमा नितान्त एक्लो र निरीह देखिएका प्रधानमन्त्री ओली दोश्रो बैठक सम्म आईपुग्दा “प्रचण्ड – माधव” गुटलाई टक्कर दिने हैसियतमा प्रस्तुत भएका छन्।

पार्टी नेतृत्वमा पुग्ने र प्रधानमन्त्री बनेर सत्ताको बागडोर सम्हाल्ने अति नै ठूलो महत्वाकांक्षा राखेर सत्ता र शक्तिमा पुग्न एउटा खुट्टा उचालेर बसेका बामदेब गौतमको त्यही कमजोरीको फाईदा उठाउन प्रधानमन्त्री ओली सजिलै सफल भएकाले पार्टी भित्रको शक्ति संघर्षमा उनको पल्ला भारी हुन थालेको हो।

 बामदेब गौतमलाई राष्ट्रीय सभामा लैजाने यस अघिको सचिवालयको बैठकलाई समेत टेरपुच्छर नलागाएका ओलीले आफुले खाईपाई आएको प्रधानमन्त्रीको पदलाई त्यति सजिलै बामदेब गौतमलाई “सुनको किस्ती” मा राखेर ट्क्र्याउँछन् भन्ने बिश्वास अरु त परै जावस् स्वयं बामदेब गौतमका अन्धभक्तहरुले पनि गरेका छैनन्।

त्यसो त बामदेब गौतमले प्रचण्ड – माधवको कित्ताबाट फुत्त उफ्रिएर ओली भएकातिर छलाङ मार्दैमा सचिवालय र पार्टीको स्थाई समिति र केन्द्रिय कमिटीमा ओली – गौतमको पक्षमा बहुमत पुगिहाल्ने त होईन तर ” रात रह्यो, अगराठ पलायो” भने झैँ अब बस्ने सचिवालय र स्थायी समितिको बैठक सम्ममा पार्टी भित्रको शक्ति संघर्षले नयाँ मोड लिने भने निश्चित छ।

आजको सचिवालयको बैठकले बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरे संगै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने बाटो भने खुलेको छ। प्रधानमन्त्री ओलीले गत फागुनमै आफ्ना विश्वासपात्र खतिवडालाई राष्ट्रियसभामा लैजान चाहेका भए पनि पार्टीभित्रको विवादले सम्भव भएको थिएन। सचिवालयको आजको यो निर्णयले मन्त्री खतिवडाको पद जोगिएको छ।

पार्टी नेताहरू बीचको निरन्तरको बैठक र गोप्य चोटे कोठे बैठकहरु बाक्लिदै जाँदा र पार्टीको सचिवालयको बैठक पछी पछी सर्दै जाँदा, को कुन गुटमा पुग्ने हो र कसले कसलाई सघाउने वा धोखा दिने हो यकिन साथ भन्न सकिने स्थिती छैन। प्रधानमन्त्री बन्ने लालशाले अहिले बामदेब गौतम डगमगाएका छन् भने भोलि अरु कति नेताहरु त्यसै गरी धर्मराउने हुन् त्यो हेर्न भने अरु  दिन अझै कुर्नै पर्ने भएको छ।

आजको बैठकमा देखिएको प्रधानमन्त्रीको मौनता र प्रचण्ड – माधव समुहका प्रचण्डको लचकताले धेरै आशंका उब्जाएको छ। यस अघि माधव नेपाललाई फकाउन अनेकौं प्रयत्न र प्रयास गरेको सत्ता पक्षले त्यो संभब नभएपछी सचिवालयको बैठकमा एक्कासि “बामदेब कार्ड” खेलेको थियो जुन सफल पनि भयो। पहिले आफै संग रहेका तर पछी बिच्किएर हिडेका विष्णु पौडेललाई समेत आफ्नो समुहमा फर्काउन सफल भएपछि एकाएक ओली पक्षको पल्ला भारी हुन पुगेको थियो।

ओली पक्षका दोश्रो पुस्ताका प्रभावशाली नेता शंकर पोख्रेलको प्रचण्ड संगको गोप्य भेटघाट र प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रचण्ड संग गरिएको अनेकौं पटकको वान-टू-वान कुराकानीले पनि आजको सचिवालय बैठक प्रभावित भएको अड्कल काट्न गाह्रो छैन।  

यसबीच चीनिया राजदुतको दौडधुप र नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली संगको अर्थपूर्ण भेटघाटले पनि आजको सचिवालयको बैठकलाई प्रभावित पारेको अनुमान सजिलै लगाउन सकिन्छ।

सत्ता पक्षले पछिल्लो पटक देखाएको सकृयता र अर्का अध्यक्ष प्रचण्डको ओली र उनी निकटस्थ नेताहरु संगको बाक्लो भेटबार्ताले माधव गुटलाई नराम्ररी झस्काएको छ। प्रचण्डले नै कतै ओली संग भित्र भित्रै साँठगाँठ त गरेनन् भन्ने आशंका पनि उनीहरु बीच उब्जिएको छ। 

अहिलेको अबस्थामा बामदेबले गुट परिवर्तन गर्दैमा पासा पल्टि हाल्दैन तर अध्यक्ष प्रचण्डले अलिकती पनि यताउती गरे भने, माधव नेपालको प्रधानमन्त्री बन्ने सपना चैं  ” साढेँको झर्ला र खाउँला” भन्ठान्ने फ्याउराको कथा जस्तै हुन्छ भन्ने ठम्म्याई माधब समुहको छ।

त्यसैले अहिले नेकपा भित्र केपी, प्रचण्ड र माधब बीचको त्रिपक्षिय शक्ति संघर्षमा कसैले कसै माथी बिश्वास गर्न सकिरहेका छैनन्। को कहिले को संग मिल्छ र कस्ले कतिखेर कसलाई धोखा दिन्छ भनेर एकले अर्कोलाई शंकाको नजरले हेरिरहेका छन्।

त्यसैले सबै गुटका नेताले सबै गुट र समुहसंग बार्ता पनि गरिरहेका छन् र भित्र भित्रै एकले अर्कालाई सिध्याउन कुनै कसर पनि बाँकी राखेका छैनन्। पार्टी भित्र बर्तमानमा चल्दै गरेको शक्ति संघर्षमा यी तीन शिर्ष नेताहरु यतिखेर बिच्छी, सर्प र भागुता जस्ता देखिएका छन्। एकले अर्कालाई कसरी सिध्याउन सकिन्छ भनेर दाउ हेरेर बसिरहेका छन्।

स्थायी कमिटीको बैठक सम्पन्न हुँदाको अबस्था सम्ममा यी तीनै नेताहरु बीच नाटकीय सहमति भएर “भाग शान्ति जय नेपाल” हुने हो कि, कुनै खास दुई नेताहरू एक आपसमा मिलेर अर्को पक्षलाई खुईलाउने हुन् ? त्यो अड्कलबाजी अहिले नै गर्नु भन्दा अब हुने सचिवालय र स्थायी कमिटीको बैठक सम्म कुर्ने हो भने सबै छर्लङ्ग भैइसक्ने छ।

मदन बस्नेत 

भक्तपुर, सुर्यबिनायक

हाल : टोरोन्टो, क्यानाडा