शेखर कोइराला सभापति, गगन थापा महामन्त्री

नेपाल समाचार

शेयर गर्नु होस ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले आन्तरिक विवादमा रुमल्लीएको छ । असन्तुष्ट पक्ष र सन्तुष्ट पक्षका आ-आफ्नै गुटका भेलाहरु अहिले पार्टी केन्द्रीय कार्यलय देखि नेताहरूका निवास सम्म गुटगत भेलाहरु चलिरहेका छ्न् । पार्टी केन्द्रीय कार्यलय सानेपामा चलिरहेको असन्तुष्ट समूहको भेलामा आगामी १४ औं महाधिवेशनको कुरालाई लिएर महाधिवेशन केन्द्रीत बहसको पनि सुरुवात भएको छ ।

आगामी महाधिवेशनमा अहिलेका सभापति शेर बहादुर देउवालाई टक्कर दिने गरि उम्मेदवार चयन गर्नुपर्ने कुराले पनि प्राथमिकता पाएको छ । आखिर सन्तुष्ट वा असन्तुष्ट जे भनेपनी कांग्रेस भित्रको मूल विवाद नै आगामी १४ औं महाधिवेशनमा कस्को जित सुनिश्चित गर्ने भन्नेमा नै केन्द्रीत छ बाँकी त सब तपशिलका कुरा न हुन् ।

कांग्रेस भित्र निर्णायक रहने ठानिएको कोइराला परिवारबाटै साझा उम्मेदवार बनाउने प्रयासमा लागेको असन्तुष्ट पक्षले सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालालाई उम्मेदवार बनाउने तयारी गरेको कुरा बाहिरीएको छ । त्यस्तै महामन्त्रीमा सिटौला समूहमा रहेका युवा नेता गगन थापालाई उठाउने तयारी भएको कुरा कांग्रेस स्रोतले जनाएको छ ।

त्यस्तै आगामि निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने आकलन सहित आगामि चुनावपछि गठन हुने सरकारको नेतृत्व भने हालका महामन्त्री शंशाक कोइरालाले गर्नसक्ने सम्भावना छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने समझदारी समेत भएको स्रोतको दावी छ ।

सभापति देउवाको शैलीको विरोध गर्दै एक ठाउँमा उभिन आईपुगेका रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एकै समूहमा उभ्याउने कसरतमा दुबै पक्षका नेताहरु जोडतोडले लागेका छन । अर्को समूहको नेतृत्व गरेका कृष्ण सिटौलालाई सम्मानजनक पद दिने तयारी छ ।

बहुमतको बलमा पार्टीभित्र अधिनायकवादी शैलीमा अगाडि बढिरहेका आफ्ना समूहका केही सदस्यको झुकाव देउवा पक्षतिर भएको भन्दै आफ्नो समूहलाई एकीकृत पार्ने र आफ्नु समूह एक रहेको सन्देश दिने गृहकार्य समेत चलिरहेको र त्यसैको आधारमा नै आगामी महाधिवेशनको तयारीमा समेत लागेको एक कांग्रेस नेताले जानकारी दिए ।

पौडेल र सिटौला समूह एक ठाउँमा उभिने हो भने देउवा पक्षलाई पराजित गर्न सकिने प्रशस्त सम्भावना रहेको असन्तुष्ट समूहको आकलन छ । आगामि दिनमा देउवाले गरेका गलत कामको भण्डाफोर गर्दै अहिले देउवा पक्षका भनिएका केही नेताहरूलाई समेत आफ्नो पक्षमा पार्न प्रयास गरिने समेत ती नेताले जानकारी दिए ।

अहिले देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधि र बिजयकुमार गच्छदारको आपसी टकरावको कारण एक समूहले अहिलेको असन्तुष्ट समूहलाई साथ दिनसक्ने आकलनमा पौडेल, सिटौला समूह देखिन्छ । अर्कोतिर देउवा पक्षमा आकांक्षी धेरै रहेकाले पनि देउवा गुटमै फुट आउने आकलन यो समूहले गरेको छ ।

नेपाली कांग्रेस भित्रको यो समीकरणले कत्तिको काम गर्छ त्यसको लागि भने आगामी १४ औं महाधिवेशन सम्म कुर्नै पर्छ ।