श्रीलंकाको आतंककारी हमलामा दुई धनाढ्य परिवारको जम्काभेट

विश्व समाचार

शेयर गर्नु होस ।

द न्यूयोर्क टाइम्स

सुन्तला र स्याउका मगमगाउँदा दाना टेबलमा सजिएका थिए। लरक्क पाकेका मेवा चाना नपारी सग्लै राखिएका थिए।

चम्चा–काँटाको ध्वनी टाङटाङ टुङटुङ बज्न थाल्यो। मान्छेका कल्याङमल्याङ सुनिन थाले।

नौ बज्न केही बेर मात्र बाँकी थियो।

डेनमार्कका धनाढ्य व्यापारी एन्डर्स होल्च पोभल्सन सांग्रिला होटलको टेबल वान रेस्टुरेन्टमा परिवारसँग ब्रेकफास्ट खान तयार भए।

उनले पुलुक्क झ्यालबाहिर हेरे। बिहानी हावाले हिन्द महासागरमा छाल लहराएको शिशाबाट प्रस्टै देखियो।

पोभल्सनले शुकूनको लामो सास तान्दै चम्चा–काँटा उठाए।

शुभबिहानीले सधैं शुभदिनको संकेत गर्दैन!

त्यही बेला इल्हाम इब्राहिम होटलको तल्लो तल्लाबाट विद्युतीय भर्याङ चढेर रेस्टुरेन्टतिर उक्लँदै थिए।

उनी श्रीलंकाका धनाढ्य मसला व्यापारीका छोरा हुन्। बेसबल क्याप लगाएका थिए। काँधमा ब्याकप्याक भिरेका थिए। उनका साथी पनि लगभग उस्तै हुलियामा देखिन्थे। उस्तै क्याप, उस्तै ब्याकप्याक।

विद्युतीय भर्याङको अन्तिम खुड्किलो नाघेर जसै उनीहरू टेबल वान रेस्टुरेन्टतिर बढे, स्वचालित ढोका सर्रर खुल्यो।

इब्राहिमले आफ्ना साथीतिर हेरे। सेता दाँत चम्काउँदै मुसुक्क हाँसे। गहिरो गरी आँखा सन्काए।

उनको यो मुस्कान भित्ताको सिसिटिभीमा सुटुक्क कैद भयो।

पोभल्सन र इब्राहिम परिवार दुवै अर्बपति हुन्। पोभल्सन डलर अर्बपति, इब्राहिम रुपैयाँमा।

पोभल्सन जिन्स, टर्टलनेक लगायत कपडा व्यापारबाट चम्के, इब्राहिम परिवारको पनि श्रीलंकामा मसलाको कारोबार फैलिएको छ।

संसारको दुई अलग ध्रुवका यी दुई सफल र सम्मानित परिवारको यसपालि श्रीलंकाको आतंककारी हमलाबीच जम्काभेट भयो, बिल्कुलै अलग रूपमा।

सांग्रिला होटलमा भएको विस्फोटपछि अनुसन्धान गर्दै सुरक्षाकर्मीहरू।

पोभल्सन डेनमार्ककै सबभन्दा धनी व्यक्ति हुन्। ‘बेस्टसेलर’ नामको फेसन ब्रान्ड चलाउँछन्।

डेनमार्कमा इस्टर पर्वको छुट्टी छ। यही मौकामा उनी श्रीमती एने र ५ देखि १५ वर्ष उमेरका चार जना छोराछोरी लिएर श्रीलंका आएका हुन्।

समुद्री तटमा बालुवामाथि पल्टेर घाम ताप्ने र पैतालाका चिह्न छाड्दै हिँड्ने केटाकेटीको रहर पूरा गर्न उनले श्रीलंकाको कोलम्बो रोजे। कोठाको झ्यालैबाट हिन्द महासागरमा छाल लहराएको देख्न पाइने सांग्रिला होटल छाने।

अल्मा उनकी ठूली छोरी हुन्। केही दिनअघि उनले इन्स्टाग्राममा कोलम्बो तटका केही तस्बिर सेयर गरेकी थिइन्।

त्यसो त पोभल्सन परिवारको विदेश भ्रमण प्रायः गोप्य रहन्छ। सुरक्षा मामिलामा उनीहरू साह्रै सतर्क हुन्छन्। ४६ वर्षीय पोभल्सन त कसैले आफ्नो तस्बिर खिचेकोधरि मन पराउँदैनन्। सामाजिक सञ्जालहरूबाट परहेज राख्छन्।

तै पन्ध्रवर्षे किशोरीको चञ्चल मन कहाँ मान्थ्यो!

उनले आफ्नो मन बुझाउन तस्बिर त सेयर गरिन्, सतर्क हुँदै अनुहार भने लुकाइन्।

उनका इन्स्टाग्राम तस्बिरमा समुद्री छाल लहराएको देखिन्छ। बादलको एक केस्राधरि नदेखिने निलम्बर छुन खोजेको हलक्क रूखको हाँगो लरक्क परेका देखिन्छन्। बालुवामा पैतालाको डोब देखिन्छ, त्यसमा उनका भाइ–बहिनीको पृष्ठभाग।

उनीहरूले यसरी आफ्नो पहिचान लुकाउनुको कारण छ।

नब्बे दशकको अन्त्यतिर पोभल्सन परिवारको घरमा कसैले फोन गरेर तर्सायो। फिरौती नदिए केटाकेटीलाई मार्ने धम्की दियो। त्यसको केही वर्षपछि नै अपहरणकारीहरूले भारतमा एक व्यक्तिको अपहरण गरे, उनलाई पोभल्सन ठानेर।

त्यसयता बीस वर्षदेखि पारिवारिक सुरक्षा पोभल्सनहरूको मुख्य प्राथमिकता रहँदै आएको छ।

डेनमार्कमा उनीहरू बस्ने छ सय वर्ष पुरानो घर सहरी घन्चमन्चबाट टाढा सुनसान ठाउँमा छ। चारैतिर सुरक्षा पर्खाल छन्। चौबीसै घन्टा सुरक्षाकर्मीको पहरा रहन्छ।

यसबाहेक उनीहरूसँग थुप्रै पुराना दरबार छन्। स्कटल्यान्डमा २ लाख २० हजार एकड जमिन छ। विश्वका धनाढ्यको सूची राख्ने ‘फोर्ब्स’ पत्रिकाका अनुसार पोभल्सनको सम्पत्ति करिब ८ अर्ब अमेरिकी डलर बराबर छ।

उनी डेनिस राजकुमारहरूसँग उठबस गर्छन्। संसारभरका अतिविशिष्ट र गन्यमान्यसँग निकट सम्बन्ध राख्छन्। तै यसको फूर्ति वा दम्भ उनको व्यवहारमा देखिन्न। उनीजस्ता धनीमानी आफ्ना कर्मचारीमाथि हुकुम चलाउन खोज्छन्, पोभल्सन भने साथीजस्तो व्यवहार गर्छन्।

त्यसैले त, ‘बेस्टसेलर’ का कर्मचारी उनीसँग डराउँदैनन्। बरू सौहार्द ठान्छन्।

संयोगको कुरा, श्रीलंकाका मसला ‘टाइकून’ इब्राहिम परिवारको छवि पनि यस्तै छ।

मोहम्मद इब्राहिम श्रीलंकाको सानो गाउँ डेल्थोटामा जन्मे–हुर्के। पढ्न–लेख्न पाएनन्।

उनी औंलाको औंठीले आफ्नो भाग्यको ढोका खुलेको बताउँछन्।

उनी राजधानी कोलम्बो आएर आफ्नो भाग्य जाँच्न चाहन्थे। तर, गाउँबाट कोलम्बोसम्म आउन बस भाडा तिर्ने पैसाधरि उनीसँग थिएन।

उनले त्यही औंठी बेचेर भाडा तिरे।

कोलम्बो आए।

राजधानीको मुस्लिम बहुल बस्तीमा खाना पकाउँदै उनले नयाँ यात्रा सुरु गरे। केही समयपछि प्याजको सानोतिनो व्यापार थाले। विस्तारै मसला व्यापारले उनलाई तान्यो।

उनी जिरा र मरिच, दालचिनी र बेसारमा आफ्नो भविष्य कोर्न थाले।

एक–एक बोरा खप्टयाउँदै उनले श्रीलंकामा मसलाको ठूलो साम्राज्य खडा गरे।

इब्राहिमको मसला कारखाना सामान लोड गर्न राखिएका ट्रकहरू।

श्रीलंकाको माटो मसला सुहाउँदो छ। त्यहाँको उच्च तापक्रम र मलिलो माटोमा संसारकै उत्कृष्ट मसला उत्पादन हुन्छ। इब्राहिम श्रीलंकाबाट सर्वाधिक मसला निर्यात गर्नेमध्ये एक हुन्। भारतमा मात्र बर्सेनि लगभग तीन अर्ब रूपैयाँ बराबर निर्यात गर्छन्।

कारोबार यति ठूलो र फैलिएको छ, उनी बजारमा मसलाको मूल्य तय गर्ने हैसियत राख्छन्। कोलम्बो व्यापार संघका अध्यक्षसमेत रहेका इब्राहिमको परिवार दसौं लाख डलर पर्ने महलमा बस्छ।

पोभल्सनजस्तै उनीहरूको बसाइ पनि श्रीलंकाको सहरी घन्चमन्चबाट टाढा शान्त ठाउँमा छ। महलमा संसारकै महँगा ब्रान्डका छवटा कार सधैं देखिन्छन्। त्यसमध्ये एउटा बिएमडब्लू पनि छ।

परिवारका सदस्यहरूका अनुसार ७० वर्ष उमेरमा पनि इब्राहिमको युवाजोश घटेको छैन। उनी आज पनि उत्तिकै मिहिनेत गर्छन्, जति कारोबारको निब हाल्दा गर्थे।

बिहान चार बजे उठिसक्छन्। मस्जिदमा प्रार्थना गर्न जान्छन्। घर फर्केर सामान्य नास्ता गर्छन्। त्यसपछि कारखाना जान्छन् र दिनभरि त्यहीँ बिताउँछन्।

उनको कारखानामा सयौं कामदार छन्, तर आज पनि जिरा–मरिचलाई आफ्नै दुई हत्केलामा नमाडेसम्म उनको चित्त बुझ्दैन। हत्केलामा माडेर उनी मसलाको गुणस्तर पर्गेल्न सक्छन्।

उनका जेठा छोरा इन्साफ ३५ वर्षका थिए। सेतो टोयोटा ल्यान्डक्रूजर हाँक्थे। उनी सामान्य श्रीलंकनभन्दा अग्ला थिए। उनको उचाइ ५ फिट ११ इन्च थियो। शरीर बलिष्ठ, हातपाखुरा मजबुत।

साथीहरू भन्छन्, इन्साफ एकदमै छिटो हिँड्थे, चाहे जहाँसुकै जानु परोस्। घरभित्रै एउटा कोठाबाट अर्कोमा जाँदा फटाफट पाइला चालिरहेका हुन्थे।

धेरै वर्षअघि श्रीलंकाको सबभन्दा प्रतिष्ठित स्कुल ‘डिएस सेनानायके’ मा पढ्दा उनलाई धेरैले जिस्क्याउँदै ‘कुद्दा’ भन्थे। ‘कुद्दा’ भनेको श्रीलंकन भाषामा पाउडर हो।

परिवारको मसला व्यापारकै आधारमा इन्साफले यस्तो नाउँ पाएका थिए।

इन्साफलाई इब्राहिमले खडा गरेको मसला विरासतको उत्तराधिकारीका रूपमा लिइन्थ्यो। इब्राहिम पनि उनलाई त्यही रूपमा प्रशिक्षित गराउँदै थिए।

सन् २०१६ को एउटा तस्बिरमा यी बाबुछोराले सँगसँगै मञ्चमा उभिएर मन्त्रीका हातबाट अवार्ड थापेका देखिन्छन्। इब्राहिम परिवारलाई श्रीलंका सरकारले यस्ता थुप्रै अवार्डबाट सम्मानित गरिसकेको छ।

अवार्ड समारोहमा मोहम्मद इब्राहिम र उनका छोरा इन्साफ।

इन्साफ ‘ह्यान्डसम’ थिए। स्वस्थ, हेर्दा आकर्षक र खेलाडीझैं फुर्तिलो ज्यान भएका। झ्याप्प दारीजुंगा पालेका उनी औपचारिक समारोहहरूमा प्रायः सुटमा देखिन्थे।

उनका भाइ ३१ वर्षीय इल्हामको आनीबानी र व्यवहार भने बिल्कुलै फरक थियो।

शान्त स्वभावका उनी पारिवारिक र सामाजिक समारोहहरूबाट अलगथलग बस्न रुचाउँथे। उनी त्यस्ता समारोहमा उपस्थित हुन र सार्वजनिक रूपमा चिनिन रुचाउँथेनन्। इब्राहिमकै कम्पनीका कामदार पनि इल्हामलाई विरलै देख्थे।

उनी प्रायः कोलम्बोबाट केही घन्टा दुरीको मटाले भन्ने ठाउँमा बस्थे। त्यहाँ मसलाको खेती रेखदेख गर्नु नै उनको जिम्मेवारी हो भन्ने बुझिन्थ्यो।

इस्टर छुट्टीमा श्रीलंका आएका पोभल्सनले कोलम्बोमा कति समय बिताए यकिन छैन।

जेठी छोरी अल्माको इन्स्टाग्राम हेर्ने हो भने उनीहरू कम्तीमा चार दिनदेखि श्रीलंकामै थिए भन्ने देखिन्छ। इस्टर पर्वअघि बिहीबारको दिन सेयर गरिएको एक तस्बिरमा स्विमिङ पुलको कुनामा रूखछेउ तीन जना साना केटाकेटी देखिन्छन्। यी केटाकेटी अल्माकै भाइबहिनी हुन सक्छन्।

श्रीलंका ‘ट्याग’ गरिएको उक्त तस्बिरको क्याप्सन छ– मेरा तीन मायालुहरू।

परिवारका सदस्यले बताएअनुसार इस्टर हमलाको अघिल्लो रात इब्राहिमका जेठा छोरा इन्साफ जाम्बिया जाने भनेर घरबाट निस्केका थिए। त्यस दिन घरबाट निस्केर कार चढ्न उनले धेरै समय लगाए। केही बेर बाहिर यसै भुलिरहे।

कारभित्र चढेर ढोका बन्द गर्ने बेला उनले आफ्नी पत्नीलाई भनेका थिए, ‘हिम्मत राख्नू।’

जाम्बिया जान्छु भनी घरबाट निस्के पनि उनको गाडी विमानस्थलतर्फ लागेन।

उनी त्यहाँबाट कोलम्बोकै सिनामोन ग्रान्ड होटलमा गए र त्यहीँ ‘चेक–इन’ गरे। उनका भाइ इल्हामले पनि त्यसै दिन सांग्रिला होटलमा ‘चेक–इन’ गरे।

इन्साफले होटलमा आफ्नो झूटो परिचय दिएका थिए भने इल्हामले आफ्नो परिचय लुकाएनन्। इल्हामको यही निर्णयले पछि आतंककारी हमलाको रहस्य उधिन्न सजिलो भयो।

आइतबार, इस्टर पर्वको बिहान।

सांग्रिला होटलको सिसिटिभी भिडिओमा इल्हाम आफ्ना साथीसँग विद्युतीय भर्याङ चढेका देखिन्छन्। त्यहाँबाट उनी टेबल वान रेस्टुरेन्ट छिर्छन्।

उनका ती साथी जहरन हशिम थिए। उनी श्रीलंकामा भएको आतंककारी हमलाका मुख्य योजनाकार रहेको अनुमान छ।

सांग्रिला होटलको सिसिटिभी फुटेजमा देखिएका इल्हाम।

सुरक्षा अधिकारीहरूका अनुसार जहरन कट्टर मुस्लिम धर्मगुरू थिए। उनी पूर्वी श्रीलंकाबाट इस्लामिक स्टेट (आइएस) का निम्ति लडाकू भर्ती गर्थे। युट्युबमा भयानक तस्बिर र भिडिओहरू राखेर युवाहरूलाई ‘जेहाद’ निम्ति आकर्षित गर्थे।

श्रीलंका हमलाको अनुसन्धानमा संलग्न अधिकारीहरूले इल्हाम र जहरनको भेटघाट कसरी भयो भन्ने खोतल्न सकेका छैनन्। इल्हामकै परिवारका सदस्यको हवाला दिँदै उनीहरू यति मात्र भन्न सक्छन्, उनी परिवारमा अरूभन्दा कट्टर मुस्लिम थिए।

उनकी पत्नी फतिमा सधैं हिजाबमा अनुहार ढाकेर बस्थिन्। श्रीलंकामा मुस्लिमहरूले सामान्यतया हिजाब पहिरिएको देखिन्न।

यहाँ इल्हाम र जहरन आपसी स्वार्थले एकअर्कातिर तानिएको देखिन्छ।

इल्हामलाई धार्मिक र आध्यात्मिक मार्गमा अघि बढ्न एक जना धर्मगुरूको खोजी थियो। यसमा जहरनलाई उनले राम्रो विकल्प माने।

जहरनको निम्ति भने इल्हामको मुस्लिम धर्मप्रति आस्था र कट्टरता नै हतियार बन्यो। यति मात्र होइन, श्रीलंकाका यी अर्बपति युवालाई ‘जेहाद’ मा सामेल गराउन सके आर्थिक अभाव नहुने पनि उनले आकलन गरेका हुन सक्छन्।

इस्टरको दिन श्रीलंकाको आकाश सफा थियो। बिहानैबाट घाम आफ्नो प्रचण्ड तापमा थियो।

क्रिश्चियनहरूको ठूलो पर्व भएकाले त्यस दिन प्रमुख होटल र चर्चहरूमा मान्छे भरिभराउ थिए।

सांग्रिला होटलको टेबल वान रेस्टुरेन्ट पनि त्यस्तै भरिभराउ थियो।

पाहुनाहरू हरियो कपडाले बेरिएका कुर्सीमा बसेर ब्रेकफास्ट खान तम्तयार थिए। शिशाबाट छिरेको घामको किरणले कोठा झलमल्ल उज्यालो थियो।

ब्रेकफास्ट टेबलमा सुन्तला र स्याउका दाना र सग्ला मेवासँगै ससेज, माछा र नुडल्सका परिकार सजिएका थिए।

इल्हाम र जहरन अलग–अलग दिशाबाट रेस्टुरेन्टभित्र छिरे।

करिब ८ बजेर ५० मिनेटमा उनीहरूले आफूसँग बोकेको बम विस्फोट गरे।

बमको धमाकासँगै उनीहरूको जीउ छियाछिया कोठाभरि छरियो। सँगसँगै, रेस्टुरेन्टमा रहेका ३३ जनाको ज्यान गयो, जसमा पोभल्सनका चार छोराछोरीमध्ये तीन जना पनि थिए।

हमलामा मारिनेमा अल्मा, एग्नेस र एल्फ्रेड छन्।

छ जनाको पोभल्सन परिवार निमेषभरमै आधा भयो।

उता, सिनामोन ग्रान्ड होटलको सिसिटिभी भिडिओ हेर्दा इन्साफले पनि ब्याकप्याक भिरेका देखिन्छन्। बेसबल क्याप लगाएका छन्। उनी एक्लै होटलको ‘बुफे’ कोठाभित्र छिर्छन्। तर, जुन आत्मविश्वासका साथ इल्हामले आफूलाई पड्काएका थिए, त्यही आत्मविश्वास इन्साफमा देखिन्न।

सिनामोन ग्रान्ड होटल

सिसिटिभी दृश्यमा उनी केही हच्केका, धर्मराएका देखिन्छन्। उनको जीउ अर्रर अर्मराएको देखिन्छ। बुफे कोठाभित्र छिरेपछि एकछिन अडिन्छन्। विस्तारी अगाडि बढ्छन्, फेरि रोकिएर पछाडि हट्छन्।

अगाडि बढ्छन्, पछाडि फर्कन्छन्।

अगाडि, पछाडि।

यो क्रम धेरैचोटि चल्छ। यस्तो लाग्छ, मानौं उनको मनले पाइलालाई साथ दिइरहेको छैन।

उनी परिवार र साथीहरूसँग घुलमिल हुने स्वभावका भएकाले यति ठूलो काण्ड मच्चाउनलाई आत्मविश्वास जुटाउन समय लागेको हो कि भन्ने अनुमान गरिएको छ।

मनमा जस्तोसुकै उफान मच्चिएको भए पनि अन्नतः उनको योजनाले जित्छ।

उनका अन्तिम पाइला निडरतासाथ कोठाभित्र छिर्छन्। र, इल्हामझैं उनको ज्यान पनि छियाछिया कोठाभरि छरिन्छ। बीस जना अन्य व्यक्तिहरूसँगै।

त्यस दिन एकपछि अर्को गर्दै श्रीलंकाभरि सात ठाउँमा आत्मघाती आक्रमण हुन्छन्। तीन होटल र तीन चर्चमा गरिएका यी शृंखलाबद्ध हमलामा २ सय ५० जनाभन्दा बढीको ज्यान जान्छ। सयौं घाइते हुन्छन्।

इल्हामले सांग्रिला होटलमा ‘चेक–इन’ गर्दा आफ्नो सक्कली परिचय खुलाएकाले अनुसन्धान अधिकारीहरूलाई उनी को हुन् भन्ने थाहा पाउन बेर लाग्दैन।

उनीहरू इल्हामको परिचय पछ्याउँदै केही घन्टामै श्रीलंकाका अर्बपति मसला व्यापारी इब्राहिमको घर पुग्छन्।

घरको मूलढोका एक महिलाले खोल्छिन्। प्रहरीलाई देख्नेबित्तिकै उनी फरक्क फर्केर सिँढी उक्लिन थाल्छिन्।

उनी फतिमा हुन्छिन्, इल्हामकी पत्नी।

सिँढीको माथिल्लो खुड्किलोमा पुगेपछि आफ्ना तीन केटाकेटीकै अगाडि फतिमाले पनि आफूलाई बमको धमाकासँगै छियाछिया पार्छिन्।

घरभित्रै फतिमाको यो आत्मघाती हमलामा उनीसहित तीन केटाकेटी र तीन सुरक्षाकर्मीको ज्यान जान्छ। उनका केटाकेटी पाँच वर्ष, चार वर्ष र नौ महिनाका थिए।

सुरक्षा अधिकारीले फतिमा गर्भवती पनि भएको बताएका छन्।

इब्राहिमको घर।

त्यसलगत्तै परिवारका मूली मोहम्मद इब्राहिमलाई सुरक्षाकर्मीहरूले हतकडी लगाएर लैजान्छन्।

भोलिपल्ट पोभल्सन, उनकी पत्नी एने र बाँचेका एक जना छोरा एस्ट्रिड निजी विमानमा कोलम्बो छाड्छन्।

बिहीबार डेनमार्कमा पोभल्सन बस्ने सहरमा हजार जनाभन्दा बढी शुभचिन्तकहरूले उनको घरअगाडि मैनबत्ती बालेर श्रद्धाञ्जलि सभा गरे। पोभल्सन परिवारमाथि परेको यो आघातले धेरैको मन कुँडिएको थियो। धेरै जना आफ्नो आँशु थाम्न सकिरहेका थिएनन्।

सुपरमार्केटमा किनमेल गर्न आएकाहरू पनि पोभल्सनका केटाकेटी सम्झेर रोइरहेका थिए।

इब्राहिम प्रहरी हिरासतमै छन्। यो आतंककारी हमलामा उनको कुनै भूमिका थिएन र आफ्नै छोराहरू यसमा सरिक भएकोबारे उनी बेखबर थिए भन्ने उनका सहयोगीहरू बताउँछन्।

संसारको दुई ध्रुवमा बस्ने दुई धनाढ्य परिवारको यो जम्काभेटमा उनीहरूको परिवारै तहसनहस भयो। इब्राहिमले आफ्ना दुई लक्का जवान छोरा, बुहारी र नातिनातिना गुमाए। उनको परिवारको सम्मानित नामका पछाडि ‘आतंककारी’ को बिल्ला झुन्डियो।

पोभल्सनले पनि तीन जना साना केटाकेटी गुमाए। छुट्टीमा रमाउन आउँदा जिन्दगीभरिका लागि आँशु बोकेर फर्कनुपर्यो।

डेनमार्कमा एन्डर्स होल्च पोभल्सनको घर अगाडि निस्केको श्रद्धाञ्जलि र्‍याली