संघीय संसदबाट पद गुमाउने पहिलो सांसद सरिता गिरी !

राजनीति

काठमाडौं, २५ असार /संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् ।

निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज संसद सचिवालयले सूचना प्रकाशित गरेर पदमुक्त भएको जानकारी गराएको हो ।

संसद सचिवालयले औपचारिक रूपमा सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएपछि गिरी स्वतः पदमुक्त भएकी छन् । नयाँ संविधान जारी भएपछि गठन भएको संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड गिरीको नाममा परेको छ ।

सरकारले निशान छाप परिवर्तन गर्न संविधान संशाेधन गर्न प्रस्ताव गरेपछि गत २८ जेठमा संशाेधन हालेकी थिइन् । उक्त संशाेधन फिर्ता लिन सोही दिन प्रमुख सचेतक उमाशंकर अरगरियाले दिएको निर्देशन अस्वीकार गरेपछि गत ११ असारमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गत २३ असारमा सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही जानकारी संसद सचिवालयलाई गराएलगत्तै सचिवालयले आज सूचना जारी गरेर पदमुक्त भएको जनाएको हो ।