संसद छिरे महरा

नेपाल समाचार

काठमाडौं, २८ वैशाख । केही समयअगाडि नेकपाभित्र विवाद चर्किइरहेको बेला कृष्णबहादुर महराले पूर्वसभामुख तथा सांसदको हैसियतमा पार्टी एकतावद्ध बनाउन वक्तव्य जारी गरे । महराले कोरोना महामारीको बेला विवाद देखिनुलाई राम्रो मान्न नसकिने बताएका थिए ।

नेता महराले यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने उल्लेख गर्दै भनेका थिए, ‘दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु ।’

फौजदारी अभियोगबाट सफाई पाएपछि नियमित जीवनमा फर्किएको सन्देश दिने वक्तव्य थियो त्यो । अब संसद पनि सुरु भयो, संसदमा महरालाई देख्न पाइएला ? मास्क लगाउनुपर्ने परिस्थिति छ । सबैले याद नगर्न सक्छन् बाहिरबाट हेर्दा तर, महरा संसदको बैठकमा सहभागी भएका छन् ।

उनी पूर्वसभामुख बस्ने अलग्गै दीर्घामा पूर्वसभामुख सुवास नेम्वाङ, ओनसरी घर्तीसँगै बसेर संसद बैठकमा सहभागी भइरहेका हुन् ।

संसद बैठकमा सहभागी भए पनि अहिले नै उनी कुनै विषयमा नबोल्ने पक्षमा देखिएका छन् ।

गत फागुन ६ गते महरा प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्यको हैसियतमा सहभागी हुने बाटो खुलेको थियो ।

संसद बैठकमा सभामुख अग्नि सापकोटाले जिल्ला अदालतले पठाएको पत्र वाचन गरेसँगै अबको बैठकमा महरा संसद बैठकमा सहभागी हुने बाटो खुलेको थियो ।

बलात्कार प्रकरणमा मुछिएपछि महराले १४ असोजमा पदबाट राजीनामा दिएका थिए । फागुन पहिलो हप्ता जिल्ला अदालत काठमाडौंले महरा निर्दोष रहेको फैसला सुनाएसँगै उनी डिल्लीबजार कारागारबाट छुटेका थिए ।

जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको संसद बैठकलाई जानकारी गराए ।