संसद सचिवालयमा धमाधम भर्ती, कांग्रेस शून्य

नेपाल समाचार

संघीय संसद सचिवालयमा यतिबेला करारमा कर्मचारी भर्ती गर्ने अभियान चलाइएको छ । स्रोतका अनुसार तोक आदेशमा संसद सचिवालयमा एमाले र माओवादी पृष्ठभूमि भएका ६८ जना कर्मचारीहरूलाई करारमा नियुक्त गरिएको छ । नियुक्त भएका अधिकांश कर्मचारीहरू पूर्वएमाले पृष्ठभूमि भएकाहरू छन् । करारमा नियुक्त गरिएका कर्मचारीहरू कार्यालय सहायक, चालक र कम्युटर अपरेटरहरू छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता लक्ष्मणलाल कर्णले पनि एक जनालाई करारमा जागिर खुवाउन सफल भएका छन् । संसद सचिवालयको कर्मचारी महाशाखाका सचिव डा.भरत गौतम र सहसचिव कृष्णहरि खड्काले माथिको आदेशभन्दै धमाधम नियुक्ति पत्र बनाएर कर्मचारी करारमा नियुक्ति गरेका हुन् ।

संसद सचिवालयमा नेकपाले गरेको राजनीतिक हस्तक्षेपका बारेमा नेपाली कांग्रेस निकटका कर्मचारीहरूले मुख्य सचेतक बालकृष्ण खाँण र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई जानकारी गराएका छन् ।