सत्ताको लालचले कांग्रेस सल्बलायो: ओलीको मोहरा बन्न बालुवाटार धायो !

नेपाल समाचार राजनीति

शेयर गर्नु होस ।

एमखबर डेस्क क्यानाडा। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध संगीन आरोप लगाउँदै उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट घोक्रेठ्याक लगाउन प्रचण्ड – माधव समुह हात धोएरै पछी लागेपछि प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शरणमा परेका छ्न्।

कोरोना संक्रमण लगायत राज्य संचालनका सबै क्षेत्रमा पूर्णतः असफल सिद्ध बर्तमान ओली सरकारको विरुद्धमा चुईक्क बोल्न नसकेको कांग्रेस, प्रधानमन्त्री ओलीले सत्ताको ललिपप देखाउने बितिक्कै हाम्फालेर बालुवाटारमा पुगेको छ। 

सत्तामा अंशियारी नमिलेको र भागबण्डामा चित्त नबुझेको कारण घर झगडा बढ्दै जाँदा एकले अर्कोलाई सिध्याउने तहमै पुगे जस्तो देखिने नेकपाको घर झगडा पार्टी फूट सम्म पुग्ने संभावना भने छैन। बाँकी बचेको ४-५ दिन भित्र जसरी पनि दुबै पक्षलाई थामथुम पार्ने अभियान पार्टी भित्र भित्रै चलेको छ र एकले अर्को पक्षमाथी दबाब बढाउँदै बार्गेनिङ गर्ने क्रमले तिब्रता पाएको छ। प्रधानमन्त्री ओलीले देउवालाई घरी घरी फोन गरेर जसरी पनि बालुवाटार आउन गरेको अनुरोधको निहितार्थ त्यहि थियो।

उपयोगिताबादकोको सिद्धान्तलाई अबलम्बन गर्दै कहिले बामदेब त कहिले प्रचण्ड अनि कहिले माधव नेपाललाई पालै पालो खेलाउँदै, फकाउँदै र झुक्याउँदै आफु विरुद्धका आवाजलाई निस्तेज पार्न सफल प्रधानमन्त्री ओलले यस पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारा खोजेका छ्न् र जुन दिन उनको स्वार्थ सिद्ध हुन्छ र उनी माथिको खतरा टर्छ त्यसपछि उनै शेरबहादुरलाई थाङ्नामा सुताउने छ्न्।

नेकपा भित्रको घर झगडा कथंकदाचित पार्टी फूटको तहसम्म पुगिहाल्यो भने त्यस्तो अबस्थामा सत्ताको चाबी स्वत कांग्रेसको हातमा पर्ने नै छ। त्यसपछि शेरबहादुर देउवा बालुवाटार होईन ओली प्रचण्डहरु लुरुलुरु बुढानिलकण्ठ धाउन बाध्य हुने नै छ्न्। स्थिति र परिस्थिति त्यसरी आफू अनुकुल बन्दै जाने स्पष्ट हुँदाहुँदै पनि लछारिदै पछारिदै बालुवाटारमा लम्पसार पर्ने कांग्रेस नेतृत्वको हत्तारोलाई आम जनताले भने निको मानेका छैनन्।

जनता र जनजिविकाको सवालमा चुक्क बोल्न नसकेको कांग्रेस, नेकपाको घर झगडामा भने साँढेको झर्ला र खान पाईएला भने झैं गरी लाज पचाएरै प्रधानमन्त्री ओलीको मोहपासमा फस्नु कांग्रेसीकालागी मात्र होईन प्रजातन्त्रबादी सबैको लागि लज्जाको विषय हो।

नेकपाको घर झगडा कुर्सीको हो, सत्ता र संगठनमा हिस्सेदारीको हो। प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिन्छु भनेका जति प्रचण्ड – माधवलाई दिन तयार भए उनीहरुको घर झगडा परालको आगो साबित हुनेछ। आफ्नै पार्टीका नेता कार्यकर्तालाई दिन तयार नभएका ओलीले कांग्रेसलाई के देलान ? प्रचण्ड – माधव समुहलाई तर्साउन र उनीहरुको बार्गेनिङलाई साईजमा ल्याउन शेरबहादुरको कार्ड फ्याकेका मात्र हुन्।

प्रचण्ड – माधवलाई घुर्की लगाउन यतिबेला शेरबहादुर ओलीका मोहरा बनेका मात्र हुन्। ओलीको जाली झेली तिकडमको खेलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति नराम्ररी फसेका छ्न्।