सरकारका प्रवक्ता भन्छन्- महासचिव मतियार होइनन्, पीडित हुन् !

नेपाल समाचार

शेयर गर्नु होस ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको जग्गा किनबेच नभएको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीनिवासको जग्गा किनबेच भएको छैन, प्रधानमन्त्रीनिवाससँगै जोडिएको ललितानिवासको कुरा हो ।’

मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँस्कोटाले सरकारी जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए ।

उनले सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गरे । यसबारे थप छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने सरकारका प्रवक्ता बाँस्कोटाले बताए । ‘दोषी देखिए कोही उम्कँदैन, यसमा सत्तापक्ष र प्रतिपक्षको प्रश्नै हुँदैन,’ उनले भने, ‘यो राजनीतिको भन्दा पनि कानुनको कुरा हो ।’

जसले नक्कली कागज बनाएर शुरु तहमा जसको नाममा जग्गा आयो, त्यस कार्यमा जसले भूमिका खेले, उनीहरूमाथि कारबाही हुने उनको भनाइ छ । अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने उनी बताउँछन् । सो अवसरमा उनले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पीडित भएको दाबी गरे ।

उनले भने, ‘महामन्त्री विष्णु पौडेल त्यो फर्जी धन्दामा संलग्न होइन । उहाँले तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नुभएको छ । यस प्रकरणमा जग्गा किन्नेहरू त ठगीमा पर्नुभएको छ । उहाँ पीडित हुनुभयो किनकि उहाँले जग्गा किन्नुभयो ।’