सरकारद्वारा संविधान संशोधन प्रस्ताव: जसपा भन्छ, प्याकेजमा गरौं।

नेपाल समाचार

शेयर गर्नु होस ।

एमखबर डेस्क, क्यानाडा। २२ मे २०२०।

सरकारले नयाँ नक्सा अनुसारको निशाना छाप परिवर्तन गर्न संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ।  मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो। 

कानून मन्त्री डा. शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गरेको पत्र र परिवर्तित निशान छाप सहितको विधेयक सचिवालयमा दर्ता भएको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार जारी भएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो। सविधानको अनुसूची ३ मा निशान छाप सम्बन्धी व्यवस्था रहेको छ। निशान छापभित्रको नक्सा मिलाउन संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको व्यहोरा खुलाईको छ।

जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएका छन्।

सोही संशोधनमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले माग गरेको संविधान संशोधनको विषयलाई पनि समेट्नु पर्ने उनको माग छ ।