‘सरकार, तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ’

नेपाल समाचार

सरकारी कोषबाट तलब खाने एक जना पत्रकारले सरकारलाई जुत्ताले हानेर खेद्नमात्र बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन । राष्ट्रिय समाचार समितिको दाङ संवाददाताको रूपमा कार्यरत नविन अभिलासीले सरकारमाथि चर्को अाक्रोश पोख्दै लेखेका छन ‘हाय रे सरकार । तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ ।’ उनले सामाजिक सञ्जालमा व्यक्त गरेको अाक्रोशले रासस भित्र हंगामा मच्चिएको छ ।

उनले किताबमा कर लगाउने, कविलाई गिरफ्तार गर्ने र फरक विचार भएकालाई गोली हान्ने काम सरकारले गरेको भन्दै जुत्ताले हान्ने विषय लेखेका छन । उनले लेखेका छन ‘किताब माथि कर लगाउने । कविहरुलाई गिरफ्तार गर्ने र थुन्ने । फरक राजनीतिक विचार राख्नेलाई गोली हानेर मार्ने । हाय रे सरकार । तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ ।’

सरकारको एकमात्र समाचार संस्थाभित्र अनेक विकृति छन । सरकारले नियुक्त गरेका पदाधिकारी हाजिर लगाएर तलब खाने र भत्ता कसरी बढी लिने भन्नेमात्र केन्द्रीत हुँदा राससमा सबैभन्दा बढी समस्या देखिएको छ । हरेक दिन सरकारका राम्रा कामको भन्दा पनि विगतमा अरूले सरकारले गरेका नराम्रा काम समेत यही सरकारले गरेको भनेर समाचार लेख्ने र प्रकाशित हुनेक्रम बढेको छ ।

जनतामा निराशा छर्ने खालका बढी समाचार राससमै प्रकाशित भैरहेका हुन्छन । हुनत नेकपाको दुई तिहाईको सरकार भएपनि राससमा भने कांग्रेस निकटका जागिरेहरूको संख्या दुई तिहाई रहेको छ । त्यसको प्रत्यक्ष मारमा रसस परेको छ । सबैजसो सञ्चारमाध्यमको समाचारको एउटा स्रोतमै समस्या रहेपछि सरकारका बारेमा नकारात्मक टिप्पणी बढ्नुलाई अस्वभाविक मान्न सकिन्न ।

राष्ट्रपतिको चीन भ्रमणको समयमा गत वैशाख १४ गते नियोजित रूपमा दलाई लामाको समाचार राससमा प्रकाशित भयो । जुन समाचारले मध्यरातमा खैलाबैला नै मच्चियो । गोरखापत्रमा समेत राससको समाचार गएपछि छापिएका केही पत्रिका समेत डम्प गरेर लुकाउनुपर्ने अवस्था सिर्जना भयो । दलाई लामाको समाचार प्रकाशित हुने समयमा कार्यरतहरूको बारेमा छानविन गरेर कारबाही गर्न अध्यक्षको हात र खुट्टा दुबै कामेको छ । उनले अहिलेसम्म त्यस विषयमा कुनै एक्सन लिन सकेका छैनन् ।