सिंगापुरको १ लाख कमाइ छाडेर हरिसिद्धिमा गाई र तरकारी

NRNA नेपाल समाचार

खोटाङका नुदेश राईले सिंगापुरमा सात वर्ष काम गरे। मासिक १ हजार २ सय डलर कमाउँथे। त्यो भनेको झन्डै एक लाख रूपैयाँ हो।                                                                                                                                         

अहिले उनी नेपालमै छन्। फर्केर आएको पनि सात वर्ष भइसक्यो। सुरूका चार वर्ष बंगुरपालन गरे। तीन वर्षदेखि भने उनको दैनिकी फेरिएको छ।

अचेल उनका दिन तरकारी बारी र गाईगोठमै बित्छन्। ललितपुरको हरिसिद्धिमा सात रोपनी जग्गा भाडामा लिएर फार्म हाउस चलाएका छन्। तीन गाई र तीन भैंसी पालेका छन्। दिनकै ३० लिटर दूध बेच्छन्, प्रतिलिटर ७५ देखि ८० रुपैयाँमा।

उनको तरकारी बारी मात्र तीन रोपनी छ। बारीमा काउली, गोलभेंडा लगायत मौसमी तरकारी लगाएका छन्।

‘सिंगापुरमा छँदा मासु काट्ने काम गर्थें। विदेश मात्र कति बस्नु, अब आफ्नै देशमा केही गर्छु भनेर नेपाल फर्कें,’ उनले भने, ‘त्यहाँ पनि कमाइ राम्रै थियो, यहाँ पनि चित्तबुझ्दो छ।’

दूध, तरकारी बेचेर सबै खर्च कटाउँदा महिनाको ५० देखि ६० हजारसम्म आम्दानी हुने उनले बताए।

विदेशमा सजिलो कि नेपालमा भन्ने प्रश्नमा उनले हाँसेर जवाफ दिए, ‘यसको त तुलनै हुँदैन, आफ्नो देश भनेको आफ्नै देश हो।’

‘अरूको कामजस्तो कति बेला जाने, कति बेला फर्किने भन्ने हुँदैन,’ उनले भने, ‘यहाँ पनि दुःख त छ, तर आफ्नै काम भएकाले सहज छ। जति गरे पनि आफ्नै हो।’

कृषि उत्पादनको बजार खोज्न कुनै समस्या नभए पनि मूल्य तलमाथि भइरहँदा समस्या पर्ने गरेको उनले बताए। सरकारले कृषि क्षेत्रका लागि अनुदान दिने भने पनि अहिलेसम्म नपाएको उनको गुनासो छ।

‘मैले त सरकारबाट एक रुपैयाँ लिएको छैन,’ उनले भने, ‘कृषि औजार, तरकारीको बीउबिजन र टनेल बनाउन प्लास्टिकमा अनुदान दिए हामीलाई राहत हुन्थ्यो।’

नुदेशलाई उनकी श्रीमतीले सघाइरहेकी छन्। कृषिकै कमाइले दुई छोरीसहित चार जनाको परिवार राम्ररी चलेको उनी बताउँछन्।

हरिसिद्धिमै अर्को पनि फार्म हाउस छ। संयोगले यो पनि वैदेशिक रोजगारबाट फर्केका व्यक्तिले स्थापना गरेका हुन्।

पाँचथरका एनबी लिम्बूले एक दशकभन्दा बढी खाडी मुलुकमा काम गरे। आफ्नै देशमा केही गरूँ भन्ने सोचेर तीन वर्षअिघ हरिसिद्धिमा पशुपालन थाले।

पन्ध्र रोपनी जग्गा भाडामा लिएर सुरू गरेको उनको फार्ममा १६ वटा गाई छन्। दिनकै १ सय ५० लिटरसम्म दूध बेच्छन्। मासिक ६० हजारभन्दा बढी आम्दानी गर्छन्।

‘गाईका लागि जति लगानी गरिएको छ, त्योअनुसार आम्दानी हुन सकेको छैन। सरकारले दिने भनेको अनुदान पनि हामीले पाएका छैनौं,’ उनले भने, ‘विदेश गएर आउनेलाई अनुदान दिने भनिए पनि झन्झटिलो प्रक्रियाले काम गर्न कठिन भइरहेको छ।’

उनका आफन्त भाइहरू अझै विदेश जाने तयारीमा छन्। कोही कोरियन भाषा पढिरहेका छन्, कोही भिसा कुरेर बसेका छन्।

‘आफूले विदेशमा धेरै दुःख गरेकाले भाइहरूलाई नेपालमै केही गरौं भन्छु, तर अझै उनीहरूलाई रोक्न सकेको छैन,’ उनले भने, ‘कृषिका लगि अझै नेपालमा राम्रो वातावरण बनिसकेको छैन।’

विदेशमा गर्नुपर्नेजति दु:ख नेपालमै गर्ने हो भने त्यो बराबर कमाइ यतै हुने उनको भनाइ छ।

‘आफ्नै देशमा, आफ्नै परिवार र साथीभाइसँग बसेर काम गर्नुजत्तिको सन्तोष अरू के होला?’ उनले भने।