सिड्नीमा काम लगाउने बहानामा यौन दुर्व्यवहार गर्ने एक नेपाली पक्राउ

NRNA प्रवास

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर काम र कोठा दिइने भन्दै विद्यार्थीलाई ठग्ने र महिलालाई यौन दुर्व्यवहार गर्ने एक नेपाली पक्राउ परेका छन्।

फेसबुकमा नक्कली आइडी बनाएर विभिन्न बहानामा ठगी गर्ने सो व्यक्तिलाई एनएसडब्लु प्रहरीले अनुसन्धानको दायरापछि पक्राउ गरेको हो।

यही मार्च ८ मा फेसबुक मार्फत काम लागाइदिने बहानामा सो व्यक्तिले एक महिलालाई अलावामा बोलाएर गाडीमा बस्न अनुरोध गरे।

कामको खोजीमा रहेकी ती महिला गाडीमा बसेपछि ती व्यक्तिले अनैतिक क्रियाकलाप गर्न लागेको भन्दै गाडीबाट भागेर प्रहरीको शरणमा पुगेकी थिइन्।

अलावा रेलवे स्टेशन नजिकै भएको सो घटनापछि १८ वर्षीय युवतीले प्रहरीलाई यसबारे जानकारी गराएकी थिइन्। करिब एक महिना लामो अनुसन्धानपछि फेसबुक आइडीका आधारमा सो व्यक्तिलाई हर्षभिलस्थित घरबाट २४ अप्रिलमा प्रहरीले पक्राउ गरेको हो।

नेपाली विद्यार्थीको बाक्लो बस्ती रहेको रकडेल हर्षभिल क्षेत्रमा भएको यो घटनाले खराब प्रवृत्तिको संकेत गरेको छ।

फेसबुकमा कतिपयले राम्रो उद्देश्यले त कतिपयले फाइदाका लागि पनि काम, कोठा र अन्य सुविधा प्रचारबाजी गर्छन्, यस्ता विषयमा आफ्नो गोप्य विवरण दिन नहुने र भर परिहाल्ने अवस्था नरहेको यसका जानकार बताउँछन्।

‘नेपाली विद्यार्थी कामको खोजीमा ब्यग्र देखिएको यसको फाइदा लिने अनेक तत्वले सामाजिक सञ्जालमार्फत प्रलोभन दिन सक्छन् यसमा ध्यान दिनुपर्छ, कतिपय राम्रो उद्देश्यले पनि हुन्छन् भने केही खराब उद्देश्य लिएका पनि हुन सक्छन्’ सञ्चारकर्मी डिल्ली ढकाल भन्छन् ‘केहीले सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर विद्यार्थीको व्यक्तिगत विवरण समेत प्राप्त गर्ने र त्यसको गलत उपयोग गर्न सक्ने डर रहन्छ, यसमा सावधान हुन जरुरी छ।’यो समाचार सेतोपाटी अनलाइनबाट साभार गरियको हो ।