सिलिन्डर र अक्सिजनको समस्या लगभग समाधान भइसक्यो : प्रधानमन्त्री ओली

नेपाल समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्थापन भइरहेको बताउनुभएको छ ।
आज बालुवाटारमा प्रेस चौतारी नेपालनिकट पत्रकारसँगको अन्तरक्रियामा उहाँले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिन, भेन्टिलेटरलगायत सामग्रीको लगभग व्यवस्थापन भइसकेको बताउनुभएको हो ।

‘जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने सरकारको नीति हो । सिलिन्डर र अक्सिजनको समस्या समाधान भइसकेको छ । साथै, भेन्टिलेटर अभावको पनि लगभग समस्या हल भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

स्वास्थ्य सामग्रीको उपलब्धतासँगै नेपालमा कोरोना संक्रमण दर घट्ने उहाँले बताउनुभयो । साथै, प्रधानमन्त्री ओलीले तत्काल जनतालाई खोप उपलब्ध गराउन रुस, बेलायत, अमेरिका, भारत, चीनलगाउत देशसँग कुराकानी भइरहेको समेत बताउनुभयो । ओलीले विपक्षी दलहरुलाई निर्वाचनमा सहभागी हुन आव्हान गरेका छन् ।

निर्वाचन घोषणा भइसक्दा समेत आफूले गराएको निर्वाचनमा भाग नलिने भन्ने तर्क उपयुक्त नभएको भन्दै उनले विपक्षीलाई प्रश्न गरे, ‘केपी ओलीले गराएको चुनावमा भाग नलिने हो भने कसले गरेकोमा भाग लिने ?’