सीड्नीमा नेपाली विद्यार्थीकाे मृत्यु

नेपाल समाचार प्रवास

अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको सीड्नीस्थित आडक्लीफ स्टेसनमा ट्रेनमै बेहोस भएर मृत्यु भएको छ।

उदयपुर मुल घर भइ काठमाडाैंमा बसाेबास गर्दै आएका रविन आचार्यको बुधबार मृत्यु भएको उनका भाइले जानकारी दिए।

सिड्नीमा इन्जीनीयरीङ अध्यनरत उनी ट्रेनमा एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई नजिकैकाे काेग्रा अस्पताल लगिएको थियो। तर उनलाई त्यहाँ डाक्टरहरूले मृत घोषणा गरेको उनका भाइले बताए। ‘दाजुसँग २५ मिनेट अगाडि मात्र कुराकानी भएको थियो। रविन विराटनगरमा प्लस टु पढेर तीन वर्ष अगाडि अस्ट्रेलिया आउनुभएको थियो। उनकाे मृत्यु के कारण भएकाे हाे,  पाेष्टमार्टमकाे रिपाेर्टपछी मात्र थाहा होला।’

हाल उनी सिड्नीको एबी कलेजमा अध्ययनरत थिए। रविन भाइ सविनसँग  सिड्नीमा बस्दै आएका थिए। उनकाे पार्थिव शरीरलाई नेपाल पठाउन एनआरएन अस्ट्रेलीया लगायतका संघ संस्था लागिपरेकाे एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मीले बताए।

‘हामी आर्थिक संकलनमा जुटेका छाै, चाडै प्रकृया पुरा गरेर परिवारकाे चाहना अनुरूप पार्थिव शरीर नेपाल पठाउने छाैं’, रेग्मीले भने।

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि अध्ययनको आकर्षक केन्द्र बनेको छ। तर बेलाबखत त्यहाँ विभिन्न घटनामा परेर नेपाली विद्यार्थीलेले ज्यान गुमाउँदै आएका छन्।